सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मी अर्यालको निधन

पुस २९, २०८१

रमेशकुमार पौडेल

Aryal, a tourism businessman and conservationist from Sauraha, passed away

चितवन — पर्यटकीय क्षेत्र सौराहाका पुराना पर्यटन व्यवसायी तथा संरक्षणकर्मी विष्णुप्रसाद अर्यालको ९४ वर्षको उमेरमा सोमबार निधन भएको छ । अर्याल २०४० सालमा सौराहामा खुलेको राइनो लज एन्ड होटलका सञ्चालक थिए । त्यसैगरी उनी सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनको पनि तीन कार्यकाल अध्यक्ष भएका थिए । उनले होटल व्यवसायीहरूको संस्थाको पनि नेतृत्व गरे । 

‘राइनो लज एन्ड होटल सौराहाको १२औं होटल हो । अहिले पो सौराहा होटल रिसोर्टले भरिएको छ । राइनो खुल्नुभन्दा अघि यहाँ जम्मा ११ वटा होटल थिए,’ राइनो लजका तत्कालीन साझेदार हरिभक्त घिमिरेले भने । अर्यालले होटल व्यवसायीको संस्था होटल तथा सामुदायिक विकास समिति र पछि क्षेत्रीय होटल संघ (हान) सौराहाको पनि नेतृत्व गरेको घिमिरेले बताए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका हालका अध्यक्ष जितु तमाङले अर्याल २०४९ साल साउनदेखि २०६५ सालको असारसम्म तीन कार्यकाल बाघमारा वनको अध्यक्ष भएको बताए । ‘हाम्रो वनमा अहिले पर्यापर्यटन निकै फष्टाएको छ । तर यो कुनै बेला भूमाफियाहरुले दर्ता गरेर हडप्न खोजेको वन हो । अर्यालको कार्यकालमा वनलाई भूमाफियाबाट फर्काउनुका साथै पर्यापर्यटन सुरु गर्न ठूलो भूमिका रह्यो,’ तामाङले भने ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully