काठमाडौँ — गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूको क्षमता उपयोग ४६.४१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष उद्योगहरूको क्षमता उपयोग करिब १० प्रतिशत विन्दुले घटेको हो । आर्थिक वर्ष ०७९/८० मा यो प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा समेटिएका उद्योगहरूमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ९२.४३ र सबैभन्दा कम साबुन उत्पादन गर्ने उद्योगले २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन् । अघिल्लो वर्षको तुलनाम गत वर्ष सबैभन्दा बढी बिजुलीको तारको उत्पादन ५५.४३ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी ह्रास साबुनको उत्पादन ८५.६४ प्रतिशतले भएको छ ।
साबुन उत्पादन गर्ने नमूनामा छनौट भएको साबुन उद्योगले गुणस्तरीय कच्चा पदार्थ प्राप्त गर्न नसक्दा उत्पादनमा कमी आएको प्रतिवेदमा उल्लेख छ । यसैगरी, अध्ययनमा समेटिएका २७ वटा उद्योगहरू मध्ये २ वटा बन्द अवस्थामा छन् । बााकी २५ वटा उद्योगहरूबाट प्राप्त तथ्यांक अनुसार गत वर्षमा महिला ४ सय ८७ र पुरुष ४ हजार १ सय ५ गरी जम्मा ४ हजार ५ सय ९२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यो क्षेत्रका उद्योगहरूमा ५ हजार २ सय ६३ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । यसैगरी, लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा भने केही बढेको छ । २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा ह्रास आएको छ ।
२०८१ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २३.५१ प्रतिशत रहेको छ । प्र्रवाहित कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगहरूमा ४२.७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत/ग्यास/पानी सम्बन्धी उद्योगमा ०.८१ प्रतिशत रहेको प्रतिवेदनले औल्याएको छ ।
