डुलेर चिया बेच्दै चल्छ घर खर्च

पुस २६, २०८१

भवानी भट्ट

He runs the house selling tea

कञ्चनपुर — चिया बेच्नका लागि उनी कहिले बजारमा त कहिले बसपार्क आसपास पुग्छन् भने कतिबेला खुला मञ्चमा । हरीश चन्दले काम सानो ठूलो हुँदैन र सानै लगानीमा पनि केही फरक गरेर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । व्यवस्थापनमा १२ कक्षा पास गरेका उनी थर्मसको चिया बजारका गल्ली–गल्ली डुल्दै बेचेर रामैसँग घर चलाइरहेका छन् ।

जहाँ–जहाँ भीडभाड हुन्छ चन्द त्यहाँ चिया बोकेर पुगिहाल्छन् । बिहान ७ बजेदेखि साँझ ५/६ बजेसम्म यसैगरी चिया बेच्न डुलिरहन्छन् । ‘दिनभरिमा डेढ सय गिलास हाराहारी चिया बिक्री हुन्छ,’ महेन्द्रनगरको खुला मञ्चमा डुल्दै चिया बेचिरहेका चन्दले भने, ‘दैनिक एक/डेढ हजार बचत भइहाल्छ, त्यसैबाट घर खर्च चलेको छ ।’

चन्द हरेक बिहान महेन्द्रनगर बजार पुग्छन् । बजारमा भाडामा लिएको सटरमा दुध संकलन गर्छन्, त्यहीँ चिया पकाएर थर्मसमा भरेर बजारभरि डुल्छन् । खुलामञ्च, बसपार्क, बजारका चोकचौतारा र गल्लीमा पुगेर चिया बिक्री काममा उनका भाई नरेशले पनि सघाइरहेका छन् । नरेश पसलमा चिया बनाइदिन्छन् भने हरिष डुलेर बिक्री गर्छन् ।

‘भाई पनि अहिले बीबीए गरेर लोकसेवाको तयारी गरिरहेको छ, मलाई पनि साथ दिएको छ,’ चन्दले भने, ‘दुवै दाई–भाई मिलेर घर खर्च जुटाइरहेका छौं ।’ उनले दैनिक १५ लिटर दुधको चिया बिक्री गर्छन् । उक्त दुध बजार आसपासकै गाउँबाट आउने गरेको छ ।

व्यवस्थापनमा १२ कक्षा पास गरेपछि उनले वैदेशिक रोजगारीका सिलसिलामा साढे ५ वर्ष दुबई बसे । त्यहाँ सुरक्षा गार्डमा काम गरेका उनी कोरोना संक्रमणअघि घर फर्किएका हुन् । त्यसपछि भने उनलाई विदेश जान मनै लागेन । गाउँघरमै केही गर्नुपर्छ भन्ने मानसिकताले उनलाई चिया व्यवसायमा पुर्‍याएको हो । ‘मानिसलाई समय र परिस्थितिले जे पनि गराउँछ, फेरि काम सानो–ठूलो हुँदैन,’ चन्दले भने, ‘सुरुमा चिया बेच्दा केही असहज भएको थियो, अहिले सबैले राम्रै भन्न थाल्दा हौसला बढेको छ ।’

He runs the house selling tea

सुरुमा चिया बेच्न थालेपछि साथीभाईले होच्याए पनि अहिले सबैले राम्ररी सहयोग गरिरहेको उनी बताउँछन् । चन्दको परिवारमा आमा–बुवा, श्रीमती र भाई गरी ५ जना छन् । भाई नरेश अहिले बीबीए सकेर लोक सेवा आयोगको तयारीमा छन् । यसका साथै दाईलाई पनि चियाको व्यवसायमा सघाइरहेका छन् । श्रीमती तारा १२ कक्षामा अध्ययनरत छिन् ।

घरको खर्चदेखि भाई र श्रीमतीको पढाइ खर्च चिया बेचेर चलिरहेको उनी बताउँछन् । ठूलो व्यवसाय गर्न लगानी धेरै चाहिन्छ । फेरि राम्ररी चलाउन नसके वा नचलेमा घाटा हुने चिन्ता पनि हुन्छ । त्यहीँ भएर सानै लगानीमा भए पनि व्यवसायमा जुटेको चन्दले बताए । उनले महिनामा ४० हजार हाराहारी आम्दानी भइरहँदा सहजै घर खर्च चलिरहेको बताए ।

He runs the house selling tea

 चिया बेच्नका लागि उनी कहिले बजारमा त कहिले बसपार्क आसपास पुग्छन् भने कतिबेला खुला मञ्चमा । चन्दले काम सानो ठूलो हुँदैन र सानै लगानीमा पनि केही फरक गरेर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । व्यवस्थापनमा १२ कक्षा पास गरेका उनी थर्मसको चिया बजारका गल्ली–गल्ली डुल्दै बेचेर रामैसँग घर चलाइरहेका छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully