विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब पुग्यो, १४ महिनाको आयात धान्न पुग्ने

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Foreign exchange reserves reached 23 trillion, enough to cover 14 months of imports

काठमाडौँ — गत मंसिरमा पनि विदेशी मुद्रा सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत असारको तुलनामा करिब साढे ११ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला हरेक महिना विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड बनाउँदै आएको हो ।

गत असारमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

आर्थिक वर्ष २०८१/०८२  को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा कम्तीमा ६ महिनालाई आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको थियो ।

यस्तै, २०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully