सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ पहिलो साताभित्र

तीन वटा बाइपास सकियो, मुख्य टनेलको काम ३.५ मिटर मात्र बाँकी

पुस २६, २०८१

माधव अर्याल

'Break through' of Siddhababa tunnel within the first week of January

पाल्पा — २०७८ सालमा सिद्धबाबा मन्दिरबाट घर जाने क्रममा पहिरोमा परी घाइते भएका तिनाउ गाउँपालिका–३ दोभानका लक्ष्मणप्रसाद श्रेष्ठ सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी थाहा पाएर औधी खुसी छन् । त्यति बेला महिना दिन ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार गराएका उनलाई सिद्धबाबा क्षेत्रको पहिरोको जोखिम र त्रास ताजै छ ।

 ‘जसलाई परेको छ, उसैले दुःख पाउने हो,’ सिद्धबाबा मन्दिर परिसरमा पसल गर्दै आएका उनले भने, ‘सुरुङबाट हिँड्न पाए मैले दुःख पनि बिर्सने थिएँ ।’

स्थानीय बासिन्दा मात्र होइन, यही क्षेत्रबाट तीन पटक प्रतिनिधिसभा र एक पटक संविधानसभा सदस्य बनेका सोमप्रसाद पाण्डेय पनि सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ हुन लागेको खबरले निकै खुसी छन् । २०७४ को निर्वाचनपछि यस क्षेत्रलाई सुरक्षित बनाउन पहल मात्र गरेनन्, संसदबाटै उनले यस क्षेत्रको सडक राम्रो नबने अनसन बस्ने घोषणा गरे । ‘अहिले म धेरै खुसी छु, ७ वर्षअघि र अहिलेको अवस्था हेर्दा काम गरे हुने रहेछ भन्ने भएको छ,’ उनले भने । 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल ३.५ मिटर मात्र खन्न बाँकी छ । आयोजनाका अनुसार टनेल निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु सेरेमोनी’ हने भएकाले त्यसका लागि एक दिनअघि मात्र बाँकी काम सक्ने योजना रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिन लागेको हो । ‘सुरुमा ‘ब्रेक थ्रु’ माघ २ मा गर्ने तयारी भए पनि प्रधानमन्त्रीको समय व्यवस्थापन हुन नसक्दा माघ ८ मा गर्ने तयारी रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । 

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको दूरी १ हजार १ सय २६ मिटर छ । यसको दुबैतर्फबाट खनिएको हो । उत्तर र दक्षिणतर्फबाट खनिएकाले काम छिटो भएको आयोजनाले जनाएको छ । यसबाहेक आपत्कालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ अर्थात् बाइपास छन् । यी तीन वटैको यसअघि नै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

तीनवटै उक्त क्रस प्यासेजको दूरी ४ सय ४१ मिटर छ । पहिलो १ सय ५१ मिटर, दोस्रो १ सय ६१ र तेस्रो १ सय ३० मिटर लम्बाइ छ । अब खन्न बढीमा ३.५ मिटर रहेको र डेढ मिटर खन्न बाँकी राखेर त्यसबीचमा विस्फोट गराएर निस्किएको ढुंगा माटो सफा गरिनेछ । 

अहिले आयोजना कार्यालय र निर्माण कम्पनी ‘ब्रेक थ्रु’कै तयारीमा जुटेको आयोजना प्रमुख अधिकारीले जनाए । पाल्पातर्फको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ खनेर पाल्पातर्फ तिनाउ जलविद्युत् ड्याम साइडमा निस्कन मिल्ने गरी यसको निर्माण गरिएको छ ।

अहिले सिद्धबाबा सुरुङको भौतिक प्रगति ३३.५९ र वित्तीय प्रगति ३२.२ प्रतिशत छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको छ । यही क्षेत्रको सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो ।

दोभानदेखि चिडियाखोलासम्म चार किमि अत्यधिक पहिरो आउने क्षेत्रभित्र पर्छ । यस खण्डलाई ‘मृत्युमार्ग’ का रूपमा समेत परिचय दिन थालेपछि सरकारले सुरुङमार्गको अध्ययन गरेर बजेट सुनिश्चित गरेको थियो । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङमार्गको ठेक्का सम्झौता भएको हो । 

सरकारले भने २०७६ मंसिर पहिलो साता नै सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन सडक विभागलाई स्वीकृति दिए पनि ठेक्का लगाउन ढिलाइ भएको थियो । सुरुङमार्गको बोलपत्रको कागजात (बिड डकुमेन्ट) बनाएर स्वीकृत गर्न नै सरकार अलमलिएको थियो । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । 

सिद्धबाबा सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । त्यसबाहेक सडकमा ९ सय मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्नेछ । त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ । यस खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने आयोजनाले जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully