प्रविधिको प्रवर्द्धन गर्दै सम्पन्न भयो ‘टेकपर्व ३.०’

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Tech Parv 3.0 was completed promoting technology.

काठमाडौँ — साइबर सुरक्षा, डिजाइनिङ, कोडिङसम्बन्धी विभिन्न प्रतियोगिता र रिसर्चका सिपहरू प्रवर्द्धन गर्दै ‘टेकपर्व ३.०’ कार्यक्रम सम्पन्न भएको छ । इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले यो साता पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा यस कार्यक्रम आयोजना गरेको थियो ।  

इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, नवप्रवर्तक र सूचना प्रविधि क्षेत्रका अगुवाहरू सहभागी भएको टेकपर्वमा ‘जेन एआई सोडाउन’, ‘विकि स्पिडरन’, ‘गुगलर’ जस्ता सत्र सञ्चालन गरिएको थियो ।

साइबर सुरक्षाको आधारभूत अवधारणामा ‘बेबीपीडब्लूएन: क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गरिएको थियो । यस विधामा अर्पण पौडेल र प्रवेश सापकोटा विजयी भएका थिए ।

यसैगरी, सहभागीहरूलाई डाटा विश्लेषण गर्न र मेसिन लर्निङ प्राविधिहरू अवलम्बन गर्न दिएर ‘डाटाथन’ प्रतियोगिता गरिएको थियो । डिजाइन एन्ड इन्क्युबेसन विधामा रिया सुनार र प्रमिला तामाङ पहिलो भएका थिए भने असिम श्रेष्ठ र सौगता अधिकारी दोस्रो भए । कोडरहरूको सहभागितामा ‘कोड विद कफी’  प्रतिस्पर्धा प्रस्तुत गरिएको थियो ।

पुस २२ देखि २४ सम्म चलेको प्रतियोगितामा सिप विकासका लागि विभिन्न कार्याशालाहरू पनि आयोजना भए ।

कान्तिपुर

Link copied successfully