पहिलोपटक नेपाली प्रशिक्षक (टेन्डममास्टर) ले डाइभ गराउने
काठमाडौँ — पोखराको लौराकमा सिम्रिक एयरले शुक्रबारदेखि एरियल स्पोर्ट्स विधामा पर्ने स्काईडाइभ नेपाली प्रशिक्षकबाट गराउने भएको छ ।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार पोखरा क्षेत्रमा पहिलोपटक नेपाली टेन्डममास्टर प्रशिक्षकले स्काई डाइभिङ गराउन लागेका हुन् । वायुसेवा संचालक संघका प्रवक्तासमेत रहेका जोशीका अनुसार, यसअघि नेपालमा विदेशी प्रशिक्षकहरुले स्काई डाइभ गराउँदै आएका थिए ।
‘अब स्काई डाइभिङमा नेपाली प्रशिक्षकहरु तयार भएका छन्,’ जोशीले भने,‘यसपटक चार जना नेपाली स्काई डाइभका प्रशिक्षकले पोखरामा स्काई डाइभ गराउने छन् ।’ उनका अनुसार नेपालमा दर्ता भएको इन स्काई डाइभ नामक कम्पनीका प्रशिक्षकहरु एलिश थापा, सुवास थापा, मनिस हिराचन, यशोदा केसीले यसपटक स्काई डाइभ गराउने छन् । यी नेपाली प्रशिक्षकहरुले चीन र थाइल्यान्डबाट स्काई डाइभसम्बन्धी तालिम लिएको जोशीले बताए ।
स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाइभका लागि पोखरामा रहेको पुरानो विमानस्थलबाट हेलिकप्टर उडान हुने छ । त्यहाँबाट उडेको हेलिकप्टर पोखराको लौराकमा अवतरण भई स्काई डाइभ गर्ने खेलाडीलाई राखेर १३ हजार फिट उचाईमा पुग्ने छ । त्यो उचाईबाट खेलाडीहरुले डाइभ गर्ने छन् ।
४ वटा हेलिकप्टर भएको सिम्रिकले यसअघि खुम्बु क्षेत्रको अमादब्बलम, स्याङ्बोचे, गोराकसेप लगायतका क्षेत्रमा स्काई डाइभिङ गराउँदै आएको थियो । सिम्रिकबाहेक फिस्टेल एयरले पनि स्काईडाइभ गराउँदै आएको छ । स्काई डाइभका लागि प्रतिखेलाडी डिलक्स ९५ हजार र भीभीआईपी १ लाख १५ हजार रुपैयाँ शुल्क लाग्छ ।
