काठमाडौँ — ऋण असुलीका क्रममा लघुवित्तका कर्मचारीले ऋणीलाई डर, धम्की, अपमानलगायत कठोर विधि अपनाउन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मंगलबार जारी गरेको संचालन मार्गदर्शनमा कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि नअपनाउन र तोकिएको मापदण्ड/आचरणहरू पालना गर्न निर्देशन दिएको हो ।
यी हुन् ऋण असुली गर्दा पालना गर्नुपर्ने आचरणहरु
– कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि अपनाउन हुँदैन र कर्जा असुली गर्दा निम्नानुसारको आचरणहरू पालना गर्नुपर्दछ ।
– ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग गर्न नहुने ।
– ऋणीलाई अनावश्यक रुपमा फोन गर्न नहुने ।
– ऋणीका परिवार, साथी एवं सहकर्मीलाई अपमान गर्न नहुने ।
– ऋणी वा परिवारको सम्पत्ति वा मान-प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नहुने ।
– ऋणीलाई ऋण नतिर्दा आउन सक्ने परिणामका बारेमा गलत सूचना दिन नहुने ।
– ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह बैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार तीनपटक भन्दा बढी सम्बन्धित ठाँउमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्नुपर्ने ।
– कर्जासम्बन्धी मार्गदर्शन लघुवित्त वित्तीय संस्थाले देहायबमोजिमका मार्गदर्शनहरू अनुरुप कर्जासम्बन्धी कार्यहरु गर्ने ।
– कर्जा विश्लेषण, कर्जा सदुपयोगिताको अनुगमन एवं कर्जा असुली लगायतका विषयसहित तर्जुमा गरिएको कर्जा नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
– व्यवसाय वा परियोजनाबाट अपेक्षित आय, व्यावसायिक योजना, ऋणीको साख सूचना, यथार्थपरक पारिवारिक आय लगायतका विषयहरु समेटी कर्जाको विश्लेषण विधिको विकास गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ ।
– ऋणीको आम्दानी तथा व्यवसायको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका तयार गरी सम्बन्धित ग्राहकलाई उपलब्ध गराउने ।
– कर्जा प्रवाह वा नवीकरण गर्दा हाल भइरहेको कर्जा सूचना लिने/दिने व्यवस्थालाई व्यवस्थित एवं थप प्रभावकारी बनाउने ।
– लघु उद्यम सञ्चालनका लागि परियोजनानै धितोमा रहने गरी प्रवाह भएको कर्जाको हकमा परियोजनाको बिमा अनिवार्य रुपमा गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने ।
– यसरी परियोजना नै धितो रहने गरी प्रवाह गरिएको कर्जालाई स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा व्यावसायिक उत्पादनमा आधारित उद्यम/परियोजनामा परिचालन गर्न ऋणीहरुलाई अभिप्रेरित गर्ने ।
– संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो, सोही प्रयोजनका लागि प्रयोग गरे/नगरेको एव समूह सदस्य स्वयंले ऋणबापत रकम प्राप्त गरे/नगरेको सम्बन्धमा नियमित रूपमा अनुगमन र अभिमुखीकरण गर्ने ।
– कर्जा सदुपयोगिताको अनुगमनका लागि स्पष्ट जिम्मेवारी तोकिएको ऋण अधिकृत/कर्मचारी नियुक्त गरी ऋणीसँग निरन्तर सम्पर्कमा रही कर्जालाई सही प्रयोजनमा उपयोग गर्नका लागि ऋणीलाई अभिप्रेरित गर्ने ।
– ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्ने ।
– कर्जा सदुपयोगिताको अनुगमन कम्तीमा अर्धवार्षिक रुपमा गरी आवधिक प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याउने ।
