स्थानीयको अवरोधपछि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान बन्द

ध्वनि प्रदूषणले निकुञ्ज, बस्ती र वन्यजन्तुको बासस्थानमा असर पार्‍यो : सगरमाथा राष्ट्रिय निकुञ्ज

पुस २२, २०८१

सुरज कुँवर

Helicopter flights stopped in Khumbu area after local people's obstruction

काठमाडौँ — आन्तरिक उडानमा रहेका वायुसेवा तथा हेलिकोप्टरहरूको छातासंगठन वायुसेवा सञ्चालक संघले स्थानीयको धम्की एवं अवरोधलगायत कारण देखाउँदै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा आइतबारदेखि अनिश्चितकालका लागि हेलिकोप्टर उडान स्थगन गरेको छ ।

स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाले ‘निकुञ्ज क्षेत्रमा हेलिकोप्टर अवतरण भए चालकलाई समातेर कारबाही गर्ने’ लगायत अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खराब मौसमका कारण खुम्बु क्षेत्रमा पर्ने लुक्लामा केही दिनयता उडान नियमित हुन सकेको छैन । हेलिकोप्टर उडान रोक्ने निर्णयलगत्तै लुक्लामा जहाजबाट हुने व्यावसायिक उडान पनि स्थगन गर्ने निर्णय गरिएको उपाध्यक्ष पाण्डेले जनाए । ‘यो निर्णयबाट यात्रु तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघ क्षमायाचना गर्दछ,’ संघले आइतबार दिउँसो जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खुम्बु क्षेत्रमा स्थानीयको उद्धार, सामान ढुवानी र पर्यटकका लागि हेलिकोप्टरले काठमाडौं, रामेछाप र लुक्लाबाट चार्टर उडान गर्दै आएका छन् । खुम्बु क्षेत्रमा एयर डायनेस्टी, प्रभु, कैलाश, अन्नपूर्ण, माउन्टेन, अल्टिच्युड, फिस्टेल, श्री, सिम्रिक, हेली एभरेस्ट र मनाङ एयरका हेलिकोप्टरले चार्टर तथा उद्धार उडान गर्दै आएका थिए । लुक्लामा भने हाल समिट एयर, सीता एयर र तारा एयरले काठमाडौं र रामेछापबाट उडान गर्दै आएका छन् । 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हेलिकोप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ देखि पूर्ण रोक लगाएको छ ।

गत मंसिर २६ मा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले नेपालमा रहेका ११ वटा हेलिकोप्टर कम्पनीलाई पुस १७ (१ जनवरी २०२५) देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडान नगर्न निर्देशन दिएको थियो । संघले व्यावसायिक उडानमा रोक लगाउने निकुञ्जको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसअघि नै उक्त निर्णय अस्वीकार गर्ने जनाएको थियो ।

‘गैरसैनिक हवाई उडान ऐनको प्रयोग गर्दै उडानमा प्रतिबन्ध लगाउने अधिकार नेपाल सरकारमा सुरक्षित रहेकाले हामी सगरमाथा क्षेत्रमा उडान रोक्न व्यवसायी बाध्य हुँदैनन्,’ वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले भने ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समूहले आफ्नो क्षेत्राधिकारबाहिर गई उडानमा रोक लगाएको अध्यक्ष कार्कीको दाबी छ । खुम्बु क्षेत्रमा उडान रोक लगाउने निकुञ्जको निर्णय सम्बन्धमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले शुक्रबार सरोकारवालाको बैठक बोलाएका थिए । 

गृहमन्त्री लेखकले बैठकबाटै खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पालाई सिंहदरबारबाट फोन गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित सरोकारवालाको बैठकमा गृहमन्त्री लेखकले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनुजकुमार घिमिरेलाई दुवै पक्षलाई राखेर हेलिकोप्टर उडानको अवरोध हटाउन निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले जनाए । 

तर स्थानीयले उडानमा लगाएको रोक नहटाउने अडान लिँदै त्यसलाई अटेर गर्दै हेलिकोप्टर अवतरण गराए पाइलटलाई नियन्त्रणमा लिई पैदलयात्रा गराउने चेतावनी दिएपछि व्यवसायीले त्यस क्षेत्रमा अनिश्चितकालका लागि उडान स्थगन गर्ने निर्णय गरेका हुन् । 

उडानमा अवरोध भएपछि स्थानीयसँग वार्ता गर्न वायुसेवा सञ्चालक संघले कैलाश हेलिकोप्टरका सञ्चालकसमेत रहेका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेलाई दुई पटक खुम्बु क्षेत्रमा पठाएको थियो । ‘खुम्बु पासाङल्हामु गाउँपालिकाको अगुवाइमा लुक्लामा दुई पटक सोमबार र शुक्रबार वार्तामा बस्यौं । तर केहीले केन्द्रको अधिकार गाउँपालिकामा हुनुपर्नेलगायत अडान कायमै राखेपछि वार्ता विफल भयो,’ वार्ता संयोजक पाण्डेले भने । 

निकुञ्जले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हेलिकोप्टरहरूले अत्यधिक व्यावसायिक उडान/अवतरण गर्ने गरेको जनाउँदै अनियन्त्रित हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा थप चुनौती थपिएको जनाउँदै आएको छ । 

‘हेलिकोप्टर उडानबाट निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका बस्तीमा अत्यधिक ध्वनि प्रदूषणसमेत भएको छ भने अर्कोतर्फ वन्यजन्तु तथा आखेटोपहारसम्बन्धी आपराधिक गतिविधि/क्रियाकलापसमेत हुन सक्ने सम्भावना छ,’ निकुञ्जले मंसिर २६ मा हेलिकोप्टरहरूलाई दिएको निर्देशनपत्रमा लेखिएको छ ।

निकुञ्ज, गाउँपालिकासहितले गरेको उडान निषेधको निर्णय अनुगमन तथा कार्यान्वयनका लागि नेपाली सेनाको भगवतीप्रसाद गुल्म नाम्चे र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मेन्दल्फुलाई जिम्मेवारी दिइएको छ । 

हेलिकोप्टर उडानका कारण खुम्बु क्षेत्रमा रहेका स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुष्मा रानाले जनाइन् । स्थानीयको गुनासोपछि निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय, सरोकारवाला सरकारी गैरसरकारी संघसंस्थाहरूको बैठकले हेलिकोप्टर उडानलाई व्यवस्थित गर्न उडानमा रोक लगाउने निर्णय गरेको उनले बताइन् । 

निकुञ्जले निर्देशन उल्लंघन गरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ तथा प्रचलित कानुनविपरीत हुने अडान राख्दै आएको छ । भ्रमणमा आउने पर्यटक तथा पदयात्रीहरूको स्वास्थ्यका कारण उद्धार गर्नुपरे अनुमति लिएको हेलिकोप्टरले मात्रै उडान गर्न पाउने, उद्धार उडान गर्नुपर्ने अवस्था आए वडा कार्यालय, सम्बन्धित मध्यवर्ती उपभोक्ता समति, नजिकैको स्वास्थ्य चौकीको मौखिक वा लिखित सिफारिस लिनुपर्ने अनिमात्रै उडान अनुमति दिने निकुञ्जले जनाएको छ । 

हेलिकोप्टरलाई पाङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा कार्गो ढुवानी गर्न पनि रोक लगाइएको छ । सगरमाथा आरोहण सिजनमा पर्यटन व्यवसायीले सगरमाथाको आधारशिविरसम्मै हेलिकोप्टरमा सामान ओसार्न रोक लगाइएको छ ।

हेलिकोप्टर उडानमा रोक लागेपछि स्थानीय व्यवसायीले पाङ्बोचेभन्दा माथि चौंरी वा भरियाको सहायतामा सामान ओसार्नुपर्नेछ । निकुञ्जले हेलिकोप्टरको उडान/अवतरण, होभरिङ सम्बन्धमा कुनै पनि बेला परीक्षण गर्नुपर्ने अवस्था आइपरे निकुञ्ज प्रशासन तथा नेपाली सेनाले जाँच गरी उडान अवतरणको अनुगमन गर्नुपर्ने नियम बनाएको छ ।

सन् २०२४ को ११ महिनामा दुईतर्फी गरेर हेलिकोप्टर र जहाजबाट खुम्बु क्षेत्र र लुक्लामा एक लाख नौ हजार सात सय १४ पर्यटकले यात्रा गरेका थिए । यस अवधिमा ४४ हजार आठ सय ५९ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully