२६ करोड मागदाबी, ८ किलोभन्दा बढी सुन मकवानपुर प्रहरीले गर्यो बरामद
काठमाडौँ — अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा ५ भारतीयसमेत ९ जनाविरुद्ध करिब २६ करोड रुपैंयाँ मागदाबी गर्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा दुईवटा मुद्दा दायर गरेको छ । विभागले शुक्रबार सार्वजिनक गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपोसार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो ।
सोही घटनाको अनुसन्धानका क्रममा प्रहरी प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाले मुद्दा दायर गरेको हो । अनुसन्धान विभागको अनुमतिअनुसार पथलैयाले उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजालसमार्फत उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले सार्वजनिक गरेको सूचनाअनुसार ८ किलोभन्दा बढी (८२४३.९७० ग्राम) सुन मकवानपुर प्रहरीले बरामद गरेको छ । गत असोज तेस्रो साता मकवानपुरको रातामाटेमा सुनससहित पक्राउ परेका दुई जना भारतीयलाई अदालतमा पेस गरिएको छ ।
उक्त सुन ओसारपसार गरेको अभियोगमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–९ का आयुष सापकोटा, पनौती नगरपालिका–१ का रवीन्द्र वाइवा तामाङ, पर्वतको जलजला गाउँपालिका–५ का विनोद पुन, भारतीय नागरिकहरू अजिनाथ कुटे, राहुल विट्ठल बाड, राहुल गोरख दगडे र हन्मन्त विट्ठलविरुद्ध मुद्दा दायर गरिएको हो ।
घटनास्थलबाट भारतीय नागरिक अजीनाथ र राहुल पक्राउ परेका थिए । उनीहरूले बिस्कुट आकारका ८ टुक्रा सुन जनकपुरबाट काठमाडौं गौशालातर्फ ल्याने क्रममा पक्राउ परेका हुन् । अन्य सबै फरार छन् । उनीहरूबाट बिगो र जरिवानासमेत २४ करोड २५ लाख ८७ हजार असुलउपर गर्नुपर्ने माग गरिएको छ । उनीहरूलाई हदैसम्मको जेल सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।
त्यस्तै ४९१.१३ ग्राम (आधा किलोभन्दा कम) सुन अवैध रूपमा ओसारपसार गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका–१ का सोनी कुमारी शाह र भारत विहारका सुजित सराफविरुद्ध उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजालसमा अभियोगपत्र दर्ता गरिएको छ । सुजितलाई पनि अदालत पेस गरिएको छ ।
गत असोजमा गहना र केही सानो पारिएका टुक्रा सुन स्कुटरमा काठमाडौं लैजाने क्रममा रातमाटामै बरामद भएको थियो । बरामद भएको सुन सवै राष्ट्र बैंकमा बुझाइसकिएको छ । दुवै घटनाको अनुसन्धान गरेको मकवानपुर प्रहरीको प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता गरिएको राजस्व कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माले जनाए । उनीहरूबाट बिगो र जरिवानाबापत १ करोड ३४ लाख ६८ हजार असुल्नुपर्ने माग गरिएको छ ।
राजस्व चुहावट अनुसन्धान तथा नियनत्रण ऐन २०५२ को दफा ३ विपरीतको कार्य गरेको अभियोगमा सोही ऐनको दफा ४(ख), (छ) र (झ) को कसुरमा दफा २ (छ १) बमोजिम कायम गरिएको बिगो र बिगोबमोजिम कायम गरेको शतप्रतिशत जरिवाना असुलउपर गर्नुपर्ने माग गरिएको हो । दुवै घटनामा एउटै ऐन आकर्षित भएकाले सोहीबमोजिम मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
