माघीमा नयाँ वर्षका लागि थारू गाउँको अगुवा अर्थात् महतवा छान्ने र नयाँ वर्षका लागि नयाँ योजना बनाउने चलन छ
दाङ — मुख्य चाड माघी नजिकिँदै गर्दा थारू समुदायका कला, संस्कृति प्रदर्शन हुन थालेका छन् । थारू गाउँमा मात्रै नभई सहरमा समेत थारू संस्कृतिको रमझम बढेको छ । थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि घोराहीमा माघ सांस्कृतिक महोत्सव सुरु गरेको छ ।
महोत्सव उद्घाटनका अवसरमा बिभिन्न कला र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो । शनिबारसम्म चलेको महोत्सवमा थारू गीत, नृत्य, हस्तकलासँगै माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न थारू परिकार प्रदर्शनसँगै बिक्री गरिएको थियो ।
‘आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहित समृद्धिमा हाम्रो योगदान’ भन्ने नारासहित जिल्ला समन्वय समितिको खुला मञ्चमा उक्त महोत्सव आयोजना गरिएको हो ।
थारू समुदायको कला संस्कृतिलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको थारू कल्याणकारी सभा दाङका सभापति अशोककुमार चौधरीले बताए ।
महोत्सवमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीलगायत अतिथिको सहभागिता थियो । अतिथिलाई थारू समुदायमा प्रचलनमा रहेको कपडाको फेटा टाउकोमा बाँधिदिएर कार्यक्रममा स्वागत गरिएको थियो ।
दाङलगायत पश्चिम तराईका बाँके, बर्दीया, कैलाली र कञ्चनपुरमा थारू समुदायले माघीलाई नयाँ वर्ष र महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्छन् । माघीमा नाचगान र खानपीनसँगै नयाँ वर्षको योजना पनि बनाउने गरिन्छ । माघीमा नयाँ वर्षको लागि थारू गाउँको अगुवा अर्थात् महतवा छान्ने र नयाँ योजनाहरू बनाउने चलन रहेको मतहवा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रकाश चौधरीले बताए । यसका साथै बर्षभरीका योजना बनाउने र छोराछोरीको विवाहका लािग तयारी गर्नेसम्मका काम माघीमा हुन्छन् ।
माघीको दिन बेलुकीपख महतवाको घरमा नाचगानको सुरुवात गरी हरेक घरमा नाच्न जाने चलन छ । माघीमा गीत र नाचको बढी महत्त्व रहेको चन्द्रप्रकाशले बताए । अग्रजबाट आशिर्वाद लिने–दिनेसम्बन्धी गीतका साथै महतवा, रैती, कमैया, कमलरी जस्ता विषयका कथाव्यथाका गीत पनि माघीमा गाउने चलन छ ।
माघीको अवसरमा गाउने गीतलाई मघौटा भनिन्छ । माघीमा मघौटा गीत र नाच चर्चित छन् । मघौटा नाचको महत्त्व भए पनि महोत्सवमा भने थारू समुदायमा गाइने र नाचिने सबै प्रकारका नाचहरू प्रस्तुत गरिएको छ । माघी पर्व माघ १ लाई माने पनि नाचगान पुसदेखि नै सुरु हुने गर्छ ।
