नेपालगन्ज — चिठी वा सरकारी दस्ताबेज सिल गर्न, हतियारको बिँडमा लगाउन, गरगहना भर्नलगायतमा प्रयोग हुने वस्तु लाहाको बाँकेमा पहिलो पटक खेती विस्तार गरिएको छ । भारतबाट आयात हुने लाहाको नेपालमा पहिलो पटक खेती विस्तार गरिएको हो ।
डिभिजन वन कार्यालय, बाँकेले विज्ञसहितको टोलीको सहभागितामा लाहा खेती विस्तार गरेको हो । खेतीको बीउ ल्याएर रूखको हाँगामा लाहा उत्पादन गर्ने लाहा किरा (भ्रूण) छाडिएको छ ।
डिभिजन वन कार्यालयले कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा खेती सुरु गरेको हो । वन उपभोक्ता समूहमा २५ केजी बीउ लगाइएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाको जलनधारा र झिजरी महिला सामुदायिक वन उपभोक्ता समूहमा पनि खेती विस्तार गरिएको छ ।
विशेष रूखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिने २५ वर्षदेखि लाहा खेतीमा लागेका विज्ञ डम्मर विश्वकर्माले जनाए ।
लाहाको कच्चा पदार्थ प्रतिकेजी एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले बताए । प्रशोधनपछि प्रतिकिलो दुई हजारसम्ममा पनि बिक्री हुने उनको भनाइ छ । लाहा विशेषगरी फर्निचर कारखाना, गहना पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने गर्छ ।
‘लाहा किराले बिरुवाको रस चुसेर आफैं खाना प्राप्त गर्छ । धेरै दुःख गर्न नपर्ने भएकाले खेती गर्न सहज छ । परीक्षण गरिएको रूखबाट उत्पादन राम्रो भएमा थप विस्तार गर्ने योजना छ,’ विज्ञ विश्वकर्माले भने । लाहा उत्पादन भाले र पोथीको यौनक्रीडापछि पोथी कीराको शरीरमा परिवर्तन हुने विज्ञ विश्वकर्माले बताए ।
त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ अनि अन्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ, जसलाई लाहा भनिन्छ । ‘लाहा भालेले बनाउन सक्दैन । लाहा उत्पादनका लागि मनसुनी वर्षा र १५ डिग्री सेल्सियसदेखि ४०/४५ डिग्री सेल्सियसम्म तापक्रम राम्रो मानिन्छ,’ विश्वकर्माले भने । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त रहेको उनको भनाइ छ ।
जिल्लाका सामुदायिक वन र उपभोक्तालाई आयमूलक बनाउने लक्ष्यका साथ लाहा खेती सुरु गरिएको छ । लाहा खेतीबाट तराई क्षेत्रमा पाइने खयर, बयरलगायत रूखको संरक्षणमा खेती सुरुवात गरिएको हो ।
जिल्लामै पहिलो पटक सुरु गरिएको खेतीका लागि बुधबार लाहा खेती विस्तार तथा क्षमता विकासका लागि आयोजना गरिएको तालिममा सामुदायिक वन उपभोक्ता समूहका ५१ जनाको सहभागिता रहेको शमशेरगन्ज सब डिभिजन कार्यालय ओभरीका वरिष्ठ वन अधिकृत मनोज शर्माको भनाइ छ । लाहा खेतीबाट तराई क्षेत्रमा पाइने खयर, बयरलगायत रूखको संरक्षणमा भूमिका खेल्नेछ ।
अन्य क्षेत्रको सफल प्रयोग पछि बाँकेमा विस्तारका लागि खेती सुरु गरिएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले जनाए । लाहाको व्यावसायिक खेती गरेर आत्मनिर्भर बन्न सकिने उनले बताए ।
‘कोहलपुरको प्रयोग सफल भयो भने जिल्लाभर विस्तार गर्छौं,’ गुप्ताले भने, ‘जिल्लाका वनमा लाहा खेतीको सम्भावना धेरै रहेको छ । लाहा लगाइसकेपछि हाँगा काट्न नमिल्ने भएकोले वनको पनि संरक्षणमा टेवा पुग्नेछ ।’
समितिको आयस्तर सुधार गर्न लाहा खेतीले मद्दत गर्ने विश्वास लागेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुमन पौडेलले बताए । सामुदायिक वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियारलगायतमा प्रयोग गरिने उनको भनाइ छ ।
