सेयर कर्जा बढिरहँदा पनि किन बढेन नेप्से ?

सेयर कर्जाका नाममा जति पैसा आएको छ, त्योभन्दा धेरै रकम सेयर बिक्री पुँजीगत करमार्फत सेयर बजारबाट बाहिरियो 

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Even though the share loan is increasing, why does it not increase?

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप १७ अर्ब ६७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा प्रवाह भएको सेयर कर्जा १९.६ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षको चार महिनामा सेयर कर्जाको वृद्धिदर ६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । तर सेयर कर्जा बढेको अनुपातमा सेयर बजार बढ्न सकेको छैन ।

सेयर कर्जाका नाममा जति पैसा आएको छ, त्योभन्दा धेरै पैसा सेयर बिक्री, पुँजीगत करमार्फत सेयर बजारबाट बाहिरिएकाले कर्जा बढेको सकारात्मक प्रभाव नेप्से परिसूचकमा नदेखिएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए ।

‘पछिल्ला महिनामा सेयर कर्जा बढेको देखिन्छ, यसो हुँदा बजारमा सेयरको माग बढ्नुपर्ने हो, तर त्यो देखिँदैन,’ उनले भने, ‘कर्जा बढेअनुसार सेयरको माग नबढेकाले समग्र नेप्से अपेक्षित रूपमा बढ्न नसकेको हो ।’ 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिकसम्म २५ देखि ५० लाखसम्मको सेयर कर्जा ६.९ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ३ प्रतिशतले बढेको छ । सोही अवधिमा १ करोड रुपैयाँभन्दा बढीको कर्जा २७ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने १०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । 

२०८१ कात्तिकसम्म २५ लाखभन्दा कमको कर्जा ४.८, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा ८ र ५० लाख देखि १ करोडसम्मको कर्जा ०.५ प्रतिशतले बढेको थियो । यसैगरी गत आर्थिक वर्षको ४ महिनामा १ करोडभन्दा माथिको कर्जा ७.७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत आर्थिक वर्षदेखि नै वित्तीय प्रणालीमा अधिक तरलता छ । ब्याजदर निरन्तर घटिरहेको छ भने कर्जा माग निकै कम छ । यसकारण पनि अहिले बैंकले सेयर लगानीकर्तालाई कर्जा लिन आग्रह गरिरहेका छन् । राष्ट्र बैंकको तथ्यांकले साना लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएको देखाउँछ । तर पनि बजार किन बढ्न सकेन भन्ने अन्योल लगानीकर्तामा रहेको स्टक ब्रोकर्स एसोसिएसनका एक पूर्वअध्यक्षले बताए ।

बजार बढ्न अहिले चाहिएको सकारात्मक संकेत (समाचार) मार्फत लगानीकर्ताको आत्मविश्वास वृद्धि हो । पछिल्ला दिनमा सेयर बजारमा कारोबारको प्रकृति हेर्दा लगानीकर्ताले लगानी बढाएको देखिन्छ । तर लामो समयदेखि घटिरहेको बजारमा लगानीकर्ताले सकारात्मक आशाको संकेत देखेका छैनन् । सरकारको गठबन्धन परिवर्तन पनि सरकार र राष्ट्र बैंकका नीतिहरूमा परिमार्जन नभएकाले पनि बजार अपेक्षित रूपमा बढ्न सकेको छैन ।

‘सेयर बजार बढ्नका लागि आवश्यक धेरैजसो आधार तयार छन् । जस्तो– तरलता पर्याप्त छ, ब्याजदर घटिरहेको छ । सेयर बजारमा थप गिरावट नहुँदा बैंकबाट मार्जिन कल आएको छैन,’ ती अधिकारीले भने, ‘तर, नयाँ सरकारका मन्त्रीहरूले सेयर बजार आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् । उनीहरूको वक्तव्यअनुसार नीतिगत सुधार भएको छैन ।’

यसकारण अहिले बजार वृद्धिका लागि सकारात्मक उत्प्रेरणा चाहिएको उनले बताए । ‘यस्तो उत्प्रेरणाका लागि ठूलै नीतिगत परिवर्तन नहुन पनि सक्छ, सकारात्मक सन्देश दिने खालका नीतिगत परिमार्जन हुन सक्छन्,’ उनी भन्छन् ।

राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको अर्का एक सेयर लगानीकर्ताले बताए । आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि तरलता अवस्था सहज भएकाले बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफर ल्याइरहेका छन् ।

यही कारण केही लगानीकर्ताले सेयर कर्जा लिइरहेका पनि छन् । तर शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण लगानीकर्ता कर्जा लिएर सेयरमा थप लगानी गर्ने हिम्मत धेरै लगानीकर्तामा नरहेको जानकारहरू बताउँछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully