बुद्ध एयरले दुवै घटनाको क्षतिपूर्ति परोपकारी कर्ममा बुझायो
काठमाडौँ — उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम बुद्ध एयरले पोखराको वृद्धाश्रम र जनकपुरको महागंगा आरती मंगासागरलाई बुझाएको छ ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण इमर्जेन्सी ढोका खोलेका थिए ।
उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका कुनै कारणले खुला भए त्यस्तो विमानलाई प्राविधिकले परीक्षण नगरी उडान गर्न मिल्दैन । दिउँसो ३ बजेको उक्त उडान ३ घन्टा ढिलो काठमाडौंका लागि उडेको थियो ।
बिनाकारण इमर्जेन्सी ढोका खोल्ने ती यात्रुलाई बुद्ध एयरले पोखरा क्षेत्रीय विमानस्थलको रोहबरमा प्रहरीलाई बुझाएको थियो । हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ ले कसुरको प्रकृतिअनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय तोकेको छ ।
अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुले ‘क्षमायाचना गर्दै आगामी दिनमा यस्तो कार्य नगर्ने शर्तमा १ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका थिए । बुद्धको पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको सहयोगका लागि उक्त रकम बिहीबार हस्तान्तरण गरेका थिए ।
यसैबीच काठमाडौंबाट जनकपुरका लागि उडेको तर खराब मौसमका कारण असोज १५ गते विराटनगर पुगेको जहाजको पार्किङवेमा एक यात्रुले इमर्जेन्सी ढोका खुला गरेका थिए । उक्त घटनामा पनि ती यात्रुले क्षतिपूर्तिबापत १ लाख रुपैयाँ तिरेका थिए । बुद्धका जनकपुर स्टेशन प्रमुख बिजयप्रसाद सिंहले यो रकम बिहीबार जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरेका छन् ।
