नागढुंगा–मुग्लिन सडकको काम छिटो सक्न मन्त्री दाहालको निर्देशन

नागढुंगा–मलेखु–मुग्लिन खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का गरिए पनि न्यून प्रगति

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Minister Dahal's instructions to speed up the work on Nagadhunga-Muglin road

काठमाडौँ — नागढुंगा-मुग्लिन सडक खण्डको काम छिटो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका छन् ।

बुधबार निर्माणाधिन सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले आयोजना प्रमुख र ठेक्का लिने निकायसामु निर्माणमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताए ।  ‘निर्माणका क्रममा समस्या देखिए मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्छ,’ उनले भने, ‘तर अब पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य हुने छैन ।’

नागढुंगा–नौविसे–मुग्लिन तीनवटै खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनका रूपमा रहेको उक्त सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।

मन्त्रीसँगै निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखहरूलाई निर्देशन दिए । कुनै पनि बहाना र कारणले निर्माणमा ढिलासुस्ती नगर्न भन्दै सचिव शर्माले कामको परिणाम देखिने गरी निर्माणको गति बढाउन आग्रह गरे । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको सुनाए ।
काठमाडौं–नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना–ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।

काठमाडौं–मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम तीनवटा प्याकेजमा भइरहेको छ । तीनवटै प्याकेजको ठेक्काका लागि विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको छ । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड हो, जसको दूरी १२.२६ किलोमिटर छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो ।

सम्झौताअनुसार २०८१ जेठ २७ भित्र काम सम्पन्न भइसक्नुपर्ने थियो । तर भनेको समयमा काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपिएको छ । अहिलेसम्मको यसको प्रगति ६२ प्रतिशत मात्र छ ।

दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो, जसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ २७ भित्र सकिसक्नुपर्नेछ । तर अहिलेसम्म भौतिक प्रगति भने २६ प्रतिशत मात्र छ ।

मलेखुदेखि मुग्लिनसम्मको खण्डलाई तेस्रो प्याकेजमा राखिएको छ । यो खण्डको ठेक्का शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको हो । ३८.८६ किमि दूरीको यो सडक खण्डको ठेक्का सम्झौता २०७९ पुस १५ मा भएको हो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्म प्रगति २० प्रतिशत मात्र छ ।

कान्तिपुर

Link copied successfully