विराटनगर — घरघरमा पाइपबाट ग्यास पुर्याउने लक्ष्यसहित ६ वर्षअघि डेढ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बायोग्यास प्लान्ट अढाई वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका–१४ स्थित जतुवा गाउँमा सिलिन्डर युग अन्त्यको भएको उद्घोष गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बायोग्यास प्लान्ट उद्घाटन गरेका थिए ।
बायोग्यास उत्पादन गर्ने प्लान्टमा अहिले गोबरका गुइँठा सुकाएको देख्न सकिन्छ । प्लान्टका महँगा मेसिनमा खिया लाग्न सुरु गरेको छ भने गोबर ट्यांकीमा घाँस पलाएको छ । २०७५ भदौ ५ मा प्रधानमन्त्री ओलीले उद्घाटन गरेको यो प्लान्ट निर्माणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विश्व बैंक र जलवायु लगानी कोषको सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार आयोजनाको १ करोड ११ लाख, गौसेवा सदन विराटनगरको १७ लाख र विराटनगर महानगरपालिकाको १२ लाखसहित एक करोड ५० लाखको लगानी छ ।
गौसेवा सदनले सञ्चालन गर्दै आएको २ सय गाईको गोबरबाट उत्पादित ग्यासको क्षमता ६५ घरधुरी थियो । दुई किलोमिटर आसपासका ३२ घरधुरीलाई पाइपमार्फत ग्यास वितरण गरिएको थियो । सुरुका करिब तीन वर्ष बायोग्यास प्रयोग गर्न पाएपछि उपभोक्ताले एलपी ग्यासभन्दा गुणस्तरीय र सस्तो भएको भन्दै खुसी पनि व्यक्त गरेका थिए । अढाई वर्षयता भने ती उपभोक्ता पुनः एलपीजी ग्यास नै प्रयोग गर्न बाध्य भएका छन् । सडक विस्तारका क्रममा पाइपलाइन फुटेपछि बायोग्यास उत्पादनको काम ठप्प भएको गौसेवा सदन विराटनगरका अध्यक्ष शंकरलाल अग्रवालले जनाए । ‘सडक बनाउने क्रममा ठेकेदारले जानकारी बिनै पाइप फुटाइदिए,’ अग्रवालले भने, ‘पाइप काटिएपछि नयाँ जोड्न नसक्दा प्लान्ट अलपत्र परेको छ ।’
प्लान्टदेखि उपभोक्तासम्म जाने मुख्य पाइपलाइन नै नष्ट भएको अग्रवालको भनाइ छ । यसले उपभोक्तासम्म ग्यास पुर्याउन असहज भएको छ । ‘मूल पाइप र साइट पाइप सबै काम नलाग्ने गरी ध्वस्त भएका छन्,’ अग्रवालले भने, ‘अब सबै पाइप नफेरेसम्म प्लान्ट चलाउन गाह्रो छ ।’ प्लान्ट पुनः सञ्चालनका लागि करिब २० देखि २५ लाख रुपैयाँ खर्च लाग्न सक्ने अनुमान अग्रवालको छ ।
दुई सय गाई रहेको श्रीकृष्ण गौसेवा सदन अहिले आर्थिक संकटमा छ । ग्यास बिक्रीबाट केही रकम आम्दानी हुन्थ्यो । त्यो बाटो पनि बन्द हुँदा गोठका श्रमिकहरूलाई तलबसमेत दिन गाह्रो भइरहेको प्रबन्धक सन्तोष यादवले बताए । ‘बायोग्यास प्लान्टले उपभोक्तालाई सस्तो र सुलभ ग्यास वितरण सँगै गौशालालाई आत्मनिर्भर गर्न सघाइरहेको थियो’, यादवले भने, ‘प्लान्ट नै बन्द भएपछि गौ सदनसमेत संकटमा परेको छ ।’
