बाढीपहिरो बिमामा पौने १३ अर्बको दाबी, साढे एक अर्बमात्र भुक्तानी

पुस १५, २०८१

कान्तिपुर संवाददाता

13 billion claimed in flood insurance, only one and a half billion paid

काठमाडौँ — बाढीपहिरोले पुर्‍याएको क्षतिबापत परेको बिमा दाबीमध्ये हालसम्म १२ प्रतिशतमात्र भुक्तानी भएको छ । बाढीपहिरोजस्तो विशेष परिस्थितिले पुर्‍याएको क्षतिको बिमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिए पनि हालसम्म निकै कम मात्र फर्स्योट भएको तथ्यांकले देखाएको छ ।

अप्ठ्यारो परिस्थितिमा सरल र छिटो दाबी भक्तानी दिँदा बिमाप्रति जनविश्वास बढ्ने भन्दै प्राधिकरणले यसअघि नै प्रक्रिया छोट्याएर छोटो बाटो (फास्ट ट्याक) बाट भुक्तानी दिन निर्देशन दिइसकेको थियो । तर पनि अपेक्षाभन्दा धेरै कम मात्र दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्‍याएको क्षतिमा गत बिहीबार (पुस ११ गते) सम्म ३ हजार ६ सय ७६ वटा आवेदन (दाबी) बाट १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो । तर, हालसम्म १ अर्ब ५२ करोड १८ लाख बराबरको मात्र दाबी भुक्तानी भएको छ । यो परेका दाबी रकमको करिब ११.८० प्रतिशत मात्र हो । गत बिहीबारसम्म परेकामध्ये १ हजार ७ सय २० वटा दाबीअन्तर्गत साढे १ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । बाढीपहिरोले पुर्‍याएको क्षतिमा परेका दाबी छिटो भुक्तानी दिन बिमा प्राधिकरणले निर्देशन दिए पनि फर्स्योट रकम हेर्दा उक्त निर्देशन प्रभावकारी कार्यान्वयन हुन नसकेको पुष्टि हुन्छ ।

गत बिहीबारसम्म परेका दाबीमध्ये एक हजार ७ सय ७३ दाबीमा ९ अर्ब २४ करोड ५८ लाख रुपैयाँ बराबर सम्पत्ति बिमाअन्तर्गतको छ, जसमा ७ सय ४८ वटा दाबीमा १ अर्ब ११ करोड ५८ लाख ३४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत ३ सय २१ वटा दाबीमा २ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको छ । तर हालसम्म ६१ वटा दाबीमा ५ करोड ७ लाख १० हजार रुपैयाँ मात्र भुक्तानी भएको छ । बाँकी दाबी मोटर बिमा (निजी), मोटर बिमा (सार्वजनिक), सामुद्रिक बिमा, कृषि बाली बिमा, पशुपन्छी बिमा र विविधअन्तर्गत रहेको प्राधिकरणको तथ्यांक छ । ती बिमामा पनि निकै कम मात्र भुक्तानी भएको छ ।

बिमा कम्पनीहरू भने भुक्तानीमा ढिलाइ नभएको दाबी गर्छन् । आवश्यक र प्रक्रिया पुगेको सबै दाबीको धमाधम भुक्तानी भइरहेको उनीहरूको भनाइ छ । दाबी भुक्तानीको अवस्थाबारे पछिल्लो तथ्यांक हेर्न त पाएको छैन, यद्यपि बिमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीहरूले छिटो र सरल तरिकाले भुक्तानी दिइरहेका छन् । दाबी रकम अस्वाभाविक रहेको, आवश्यक कागजात पनि नपुगेको, बिमक सम्पर्कमै नआएको लगायतको हकमा दाबी भुक्तानीमा ढिलाइ भएको हुन सक्ने कम्पनीहरूको भनाइ छ ।

कान्तिपुर

Link copied successfully