नेरु हालसम्मकै कमजोर, अमेरिकी डलरमा नयाँ रेकर्ड

डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा हालसम्मकै कमजोर, एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Nehru all-time weakest, new record in US dollar

काठमाडौँ — अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।

 यो हालसम्मकै उच्च हो । गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १३६.७३ रुपैयाँ थियो । 

पछिल्ला सातामा हरेक दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही कारण अमेरिकी डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको हो । राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही 

अवधिमा नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको थियो । गत कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३४.७४ रुपैयाँ पुगेको छ । गत असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।

अमेरिकी डलरको भाउ बढोस् वा घटोस्, त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रभावित हुन्छ ।

शनिबार राति ८ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८५.३९ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि निरन्तर अवमूल्यन हुँदै आएको छ । यद्यपि गत बुधबार यस्तो विनिमय दर ८५.४१ थियो । पछिल्ला महिनामा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै अमेरिकी डलर निरन्तरजसो उकालो लागिरहेको जानकार बताउँछन् । 

ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका थिए । अब राष्ट्रपति बनेपछि घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयन हुने अनुमानमा आधारमा डलरप्रति लगानीकर्ता आकर्षण बढेको हो । 

आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले डलरबारे कस्तो नीति लिन्छन्, त्यसका आधारमा यसको भाउ अझै बढ्ने वा घट्ने निश्चित हुनेछ । तर अर्थतन्त्र र राष्ट्रियताका सम्बन्धमा ट्रम्पका निर्णयहरू आक्रामक नै हुने भएकाले घोषणापत्रमा उल्लिखित अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने निर्णय कार्यान्वयनमा आएपछि अमेरिकी डलरको भाउ झनै बढ्ने जानकार बताउँछन् । 

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ ।

डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिन्छ । 

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनामा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यति बढेको छैन । विदेशी लगानी फिर्ता, विदेशी लगानीको लाभांश वितरणलगायतमा पनि धेरै रकम खर्चिनुपर्ने हुन्छ । त्यो नेपालका लागि नोक्सानी हो ।

यस्तै डलरको मूल्य बढ्दा विदेश अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्च हुने भएकाले यो पनि नेपालीका लागि बेफाइदा हो ।

कान्तिपुर

Link copied successfully