पोखरा — अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवको २६ औं संस्करण शनिबारबाट सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव चलिरहेको छ ।
रेवान पोखराले ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । पुस १७ सम्म हुने यो महोत्सव कोमागाने पार्कदेखि गैह्राको चौतारासम्मको क्षेत्रमा हुन्छ । महोत्सवको उद्घाटन सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गरे ।
महोत्सवको मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट रहेका छन् । खेलकुदतर्फ डुंगा दौड, वेटर दौड, टग अफ वार, मःम तथा ससेज खाने प्रतियोगिता रहने छन् । सचेतनामुलक सडक नाटक र पोखराको पर्यटन प्रवर्द्धन, विकास, अवसर तथा चुनौतीमा केन्द्रित रहेर संवाद कार्यक्रमको पनि आयोजना गरिएको छ ।
पोखरा सेरोफेरोका स्थानीय उत्पादन, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, वनस्पती लगायत उपजलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिने महोत्सव संयोजक एवं रेवान पोखराका प्रथम उपाध्यक्ष विकास भट्टराईले बताए ।
महोत्सवका प्रचारप्रसार संयोजक एवं वीरेन्द्र शेरचनले सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको बताए । ‘महोत्सवमा ४ देखि ५ लाख आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति हुने गरेको हाम्रो अनुमान छ,’ उनले भने, ‘विशेषगरी भारतीय पर्यटक यो समयमा नयाँ वर्ष मनाउन उल्लेख्यरुपमा पोखरा आउने गरेका छन् ।’
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन रहेको स्मरण गरे ।
‘नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे,’ उनले भने, ‘तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना भएको छ ।’ महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमनमा निकै वृद्धि भएको उनले सुनाए । महोत्सवकै अवसरमा होटल तथा रेस्टुरेन्ट, प्याराग्लाइडिङ लगायत छुटको पनि व्यवस्था गरेका छन् ।
पोखराको पर्यटन व्यवसाय ट्रेकिङ पर्यटनबाट चलेको छ । हिमाली क्षेत्र अन्नपूर्ण, धैलागिरि, मनास्लुमा चिसो बढेका कारण पर्यटक पदयात्रामा जान सक्दैनन् । पहिले पदयात्रामा पुग्ने पर्यटक पनि फर्किएर नयाँ वर्ष मनाउन भारत, थाइल्यान्ड र आफ्नै घर फर्कन्थे । यसरी नयाँ वर्ष मनाउन घर फर्कने पर्यटकलाई पोखरामै भुलाउने उद्देश्यले २५ वर्षअघि सुरु भएको पोखरा सडक महोत्सवमा अहिले देशैभरबाट आन्तरिक पर्यटक आउँछन् । पछिल्ला वर्ष पोखरा सडक महोत्सव देशकै महोत्सवका रूपमा विकास भइरहेको छ ।
सडक महोत्सव सुरु हुनुअघि सन् १९९७ सम्म पोखरामा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी कुनै कार्यक्रम हुँदैनथ्यो । अंग्रेजी नयाँ वर्षका बेला नेपालमा रहेका पर्यटक पनि नयाँ वर्ष र क्रिसमस मनाउन भारतको गोवा, थाइल्यान्ड र आफ्नै देश फर्कन्थे । त्यतिबेला आन्तरिक पर्यटकलाई पर्यटकको रूपमा सम्मान गर्ने चलनै नभएको पहिलो पोखरा सडक महोत्सवका संयोजक गणेशबहादुर भट्टराई सम्झन्छन् । १९९८ मा पहिलोपल्ट लेकसाइड सडक महोत्सवको रूपमा सुरु भएको महोत्सव १९९९ देखि पोखरा सडक महोत्सवका रूपमा विकास भएको हो ।
