चितवन — देउमाया गुरुङ कोदो र गहुँको पिठो मिसाएर ढिँडो तयार गर्दै थिइन् । उनले अन्य गुरुङ खान्की र लोकल कुखुराको मासु तयार गरिसकेकी थिइन् । मनकुमारी थापा मगर तेलको कराहीमा बटुक तार्दै थिइन् । मासको पिठोको बटुकसँग खान टमाटरको अचार तयार भइसकेको थियो ।
उता सुँगुरको मासु पाक्दै थियो । सोबिकामाया बोटे सिलौटामा सुकेको रातो खुर्सानी पोलेर नुनसँग मज्जाले पिस्दै थिइन् ।
उनले बोटे समुदायको भान्सामा पाक्ने ठूलो, सानो माछा र झिंगे माछा तार्ने सुरसार गर्दै थिइन् । मेघौलीमा शुक्रबारदेखि सुरु भएको ‘रैथाने खाना महोत्सव’ मा चितवनका आदिवासी र जातजाति आफ्ना भान्सामा पाक्ने मौलिक परिकार तयार गर्दै थिए । महोत्सव हेर्न आउनेहरू स्वाद मानेर खाँदै थिए ।
नेचर गाइड मनेश लिम्बू मगर समुदायको परिकार खान व्यस्त थिए । महोत्सवस्थलमा स्थानीय समुदायले परिकार त पकाएकै छन्, आफ्ना घरको नमुना पनि बनाएका छन् । मनेश र उनका साथीहरूले मगर समुदायले बनाएको बटुक खाइरहँदा अगाडि मगर युवायुवती मौलिक पोसाक लगाएर कौडा र चुट्का गाउँदै, नाच्दै रमाइलो गरिरहेका थिए ।
‘मगर गाउँमा गएर उनीहरूकै घरमा बसेर उनीहरूकै भान्सामा पाकेको खान्कीको स्वाद लिँदै आँगनमा कौडा नाचेको जस्तो रमाइलो भयो,’ लिम्बूले भने । महोत्सव परिसरमा सुरुमा कुमाल समुदायको घर छ । त्यसपछि गुरुङ, थारू, दराई, मगर, बोटे र अन्तिममा ब्राह्मण समुदायको नमुना घर छ । उनीहरूको भान्सामा जे पाक्छ, ती नमुना घरमा त्यही परिकार तयार भएका छन् ।
थारूको घरमा घोँगी, अनदीको चामल बफाएर बनाएको चिच्चर र त्यसको पोका, चामलको पिठोको बाफमा पकाएको ढिकरी रोटी खान पनि उत्तिकै झुम्मिएका थिए । घरहरूमा उनीहरूले प्रयोग गर्ने औजार, उपकरण पनि राखिएको थियो । घरको डिजाइन र रंगरोगन पनि परम्परागत रूपमा गरिएको थियो ।
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउँदै ‘घुमौं भरतपुर’ अभियान चलाएको छ । वर्ष २०२४ निस्कँदै गर्दा महानगरले रैथाने खाना महोत्सव आयोजना गरेको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले महोत्सवको उद्घाटन गरेका हुन् । मेघौली चितवनको निकै पुरानो पर्यटकीय गन्तव्य हो ।
चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदीले घेरिएको मेघौलीमा आदिवासी थारू, बोटे र कुमाल समुदायको पनि बाक्लो बसोबास छ । ‘आदिवासी र जनजाति समुदायका आफ्ना मौलिक खान्कीहरू छन् । ती खाना पर्यटकले रुचाउँछन् । उनीहरूको परिकारलाई प्रवर्द्धन गर्न पनि यो महोत्सव आयोजना गरेका हौं,’ भरतपुर महानगरकी प्रमुख रेनु दाहालले भनिन् ।
मेघौली भरतपुरबाट २५ किमि पश्चिममा छ । फराकिलो कालोपत्र सडक तयार भएका कारण भरतपुरबाट सजिलै त्यहाँ पुगिन्छ । खाना महोत्सव पुस १६ सम्म चल्नेछ ।
‘मेघौलीमा पर्यटक रमाउने ठाउँहरू प्रशस्तै छन् । वनजंगल, जनावर मात्रै हैन, हाम्रो बसोबास क्षेत्र र खाना पनि मौलिक खालका छन् । अलि पर राप्ती र नारायणीको मिलन भएको ठाउँ गोलाघाटबाट सूर्यास्तको भव्य दृश्य पनि देखिन्छ,’ रैथाने खाना महोत्सवका संयोजक रहेका मायाराम चौधरीले भने ।
