कोशीमा अढाई अर्ब लगानीमा चार पदमार्ग बन्दै

करिब २० किलोमिटर लामो पदमार्गले फिक्कलदेखि श्रीअन्तु जोड्ने

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Four footpaths are being built in Koshi with an investment of two and a half billion

विराटनगर — कोशी सरकारले आगामी २०८५ सालभित्र प्रदेशका चार स्थानमा करिब अढाई अर्ब लगानीमा चारवटा पदमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । स्विस सरकारसँगको साझेदारीमा पदमार्ग निर्माण हुनेछ । यसअन्तर्गत इलाम सूर्योदय नगरपालिकामा चियाबारी पदमार्ग बन्नेछ । 

करिब २० किलोमिटर लामो पदमार्गले फिक्कलदेखि श्रीअन्तु जोड्नेछ । त्यस्तै ३८ किलोमिटर लामो फाल्गुनन्द पदमार्ग फिदिम–छिन्ताप्पु–सन्दकपुर–माईपोखरी हुँदै इलाम पुग्नेछ । १ सय ६० किमि लामो लालीगुराँस पदमार्ग तुम्लिङटार–खाँदबारी–नुम–गुफा पोखरी–तीनजुरे, मिल्केसम्म पुग्नेछ । 

सबैभन्दा लामो १ सय ६८ किलो मिटरको मुन्धुम पदमार्ग तावाभन्ज्याङ–ट्याम्केडाँडा–धोत्रे हुँदै हाँसपोखरी–मयुङ्डाँडासँग पुग्नेछ । यो परियोजना स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, २९ वटा पालिकाको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाखको आर्थिक साझेदारीमा अघि बढ्ने कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनाए । 

‘करिब अढाई अर्बको यो परियोजना २०८५ सालभित्रै सम्पन्न गर्ने योजनामा प्रदेश सरकार छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसले आन्तरिक र बाह्य पर्यटक आवागमनमा वृद्धि गर्ने र अर्थतन्त्रसमेत चलायमान बनाउने सम्भावना छ ।’

दुई साताअघि स्विस राजदूत डा. डेनियल म्युउल्यीको उपस्थितिमा पदमार्ग परियोजनामा सम्झौता भएको थियो । उक्त अवसरमा राजदूत डेनियलले पदमार्गको निर्माणपछि स्थानीय स्तरमा रोजगारी सिर्जर्ना हुनुका साथै समग्र देशमै आर्थिक उन्नति र नयाँ अवसरको सिर्जना हुने दाबी गरेका थिए । 

परियोजनाले कोशी प्रदेशलाई मात्रै नभई समग्र देशकै पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको दाबी छ । ‘यो महत्त्वाकांक्षी योजना केवल आर्थिक लाभमा सीमित छैन,’ सचिव घिमिरेले भने, ‘यसले स्थानीय संस्कृति, प्राकृतिक स्रोत र ग्रामीण पर्यटनलाई जोड दिँदै दिगो विकासलाई टेवा पुर्‍याउनेछ ।’ 

यस परियोजनाको सफल कार्यान्वयनले कोशी प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने मात्र होइन, समग्र प्रदेशको आर्थिक र सामाजिक जीवनमा कायापलट गर्ने विश्वास गरिएको छ ।

कान्तिपुर

Link copied successfully