काठमाडौँ — कर्णाली डेमलपमेन्ट बैंकको बैकिङ सेवा आइतबारसम्म स्थगित गरिएको छ ।समस्याग्रस्त घोषणापछि व्यवस्थापन नियन्त्रणका लागि राष्ट्र बैंकबाट खटिएको टोलीले संस्थाको सम्पत्ति आफ्नो नियन्त्रणमा लिई वित्तीय हिसाबकिताब चेकजाँचको काम गरिरहेकाले सेवा स्थगित गरिएको हो ।
वित्तीय हिसाब किताब चेकजाँचकै कामका लागि आइतबारसम्म बैंकिङ कारोबार स्थगित गरिएको राष्ट्र बैंकबाट कर्णाली विकास बैंकको व्यवस्थापन जिम्मा लिएको टोलीले जानकारी दिएको छ ।
‘यस संस्थाको व्यवस्थापन नियन्त्रण गर्न खटिएको तीन सदस्यीय टोलीले व्यवस्थापन लिइसकेको छ । व्यवस्थापन समूहले संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफ्नो जिम्मा लिई वित्तीय हिसाब किताब चेकजाँच गर्न सुरु गरिसकेको छ,’ टोलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निक्षेप भुक्तानी र नियमित बैंकिङ कारोबार सञ्चालन प्रयोजनार्थ बैंक तथा वित्तीय संस्थालगायत सम्बन्धित अन्य पक्षहरूसँग विभिन्न विकल्पहरूमा निरन्तर छलफल भइरहेको छ ।’ उपलब्ध सम्पूर्ण उपायहरू अवलम्बन गरी यथाशीघ्र तोकिए अनुसार निक्षेपकर्ताबाट भुक्तानी माग भए बमोजिम क्रमशः भुक्तानी गर्दै जानेछ ।’
समस्याग्रत घोषणासँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकबाट खटिएको टोलीले सम्हालेको छ । व्यवस्थापन नियन्त्रण लिनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समूह गत बुधबार नै नेपालगन्ज पुगेको थियो ।
अहिले व्यवस्थापन नियन्त्रणमा लिने काम भइरहेको संयोजक खतिवडाले कान्तिपुरलाई बताए । ‘व्यवस्थापन नियन्त्रणका लागि कागजात बुझबुझारथको काम भइरहेको छ, बैंकको अवस्था सामान्य नै छ, केही निक्षेपकर्ता आउनु भएको थियो, उहाँहरूलाई आश्वासन दिएर पठाएका छौं,’ उनले भने, ‘बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा आइसकेकाले ढुक्क हुन सम्पूर्ण निक्षेपकर्ता र सेवाग्राहीलाई आग्रह गर्दछौं ।’
