पोखराबाट पहिलो पटक यात्रुसहितको जेट विमान काठमाडौं

पुस १२, २०८१

सुरज कुँवर

Jet plane with passengers from Pokhara to Kathmandu for the first time

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि त्यहाँबाट बिहीबार पहिलो पटक जेट विमानले पूर्ण क्षमतामा यात्रु राखेर उडान गरेको छ । चीनको छेन्दुबाट १ सय २९ यात्रु ल्याएर पोखरा उत्रिएको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ विमान १ सय २६ जना यात्रु राखेर त्यहाँबाट काठमाडौं अवतरण भएको हो । 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा प्राविधिक त्रुटि रहेको भ्रम फैलाइयो,’ पोखराबाट त्यही उडानमा आएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौं विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीलाई भने, ‘आज सिचुवान एयरले गरेको उडानले भ्रम फैलाउनेको व्यापार बन्द गराएको छ । अब पोखरामा उडानलाई नियमित गराउने व्यापार गर्नुहोस् । प्राधिकरणले सघाउनुपर्ने ठाउँमा सघाउनेछ ।’ 

छेन्दुबाट आएको जहाज काठमाडौंको आकाशमाथिबाट पोखरा जोड्ने ह्विस्की–४१ हवाई रुट हुँदै पोखरा अवतरण भएको थियो । त्यहाँबाट त्यो विमान उपकरणका सहायताले गरिने आईएफआर उडान नियम पछ्याउँदै सिमरा हुँदै काठमाडौं अवतरण भएको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन तत्कालीन अवस्थामा नेपाल वायु सेवा निगमसँग भएका बोइङ–७५७ को क्षमताका आधारमा बनाइएको उडानमा रहेका प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।

एकल ग्यालरी भएको अमेरिकी बोइङ ७५७ जहाज घरेलु छोटो तथा अन्तरदेशीय मध्यम दूरी (७ हजार किलोमिटरसम्म) को उडानका लागि प्रभावकारी मानिन्छ । सिचुवानले बिहीबार पोखराबाट उडाएको एयरबसको ए–३१९ विमान पनि यस्तै क्षमताको हो । 

काठमाडौंमा सिचुवानको अवतरणपछि नियमित उडान तालिकाअनुसार यात्रु राखेर चीनको छेन्दु उडेको थियो । २५ सय मिटर लामो धावनमार्ग भएको पोखराबाट यो जहाज धावनमार्गको मध्य भागबाटै टेकअफ भएको उपहानिर्देशक कर्णले बताए ।

‘पोखरा विमानस्थलबारे पहिले धेरै शंका, उपशंका, मनगढन्ते कुरा सुनिन्थे । कसैले डाँडाका कारण ठूला जहाजले यात्रु राखेर उडान गर्न सक्दैन भने,’ यसअघि पोखरा विमानस्थलको महाप्रबन्धक भइसकेका कर्णले भने, ‘आज भ्रम निवारण भयो । एयरबसको जहाजले गरेको प्रवर्द्धनात्मक उडानले पोखरा विमानस्थल टेक्निकली ठीक भएको प्रमाणित भएको छ ।'

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully