एनसेलको शेयर स्वामित्व बिक्री रोक्न माग गर्दै सांसद् सिंहले हालेको रिट सर्वोच्चद्वारा खारेज

पुस ११, २०८१

कान्तिपुर संवाददाता

The Supreme Court rejected the petition filed by MP Singh demanding to stop the sale of Ncell share ownership

काठमाडौँ — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक, एनसेलको शेयर स्वामित्व बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । सांसद अमरेशकुमार सिंहले हालेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतले सुनुवाइ गर्दै रिट खारेज र निर्देशनात्मक आदेश जारी गर्ने फैसला गरेको छ ।

एनसेलको तत्कालिन मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाई यूकेलाई शेयर स्वामित्व बिक्री गरेकोमा सो बिक्री रोक्न माग गर्दै संसद् सदस्य सिंहले रिट दायर गरेका थिए । गत वर्ष मंसिर २२ मा दर्ता सो मुद्दामाथि सर्वोच्च अदालतको पुस ११ को संयुक्त इजलासमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेका हुन् ।

पूँजीगत लाभकर छल्ने उद्देश्यले एनसेलले कम्पनीको वास्तविक मूल्यभन्दा कम मूल्यमा शेयर बिक्री गरेको सांसद् सिंहले आफ्नो निवेदनमा दाबी गरेका थिए । एनसेलले नेपालमा करिब ४० अर्ब रुपैयाँ वार्षिक आम्दानी गर्दै आएकोमा ६ अर्ब रुपैयाँमा ८० प्रतिशत शेयर बिक्री गरिनु अपत्यारिलो कुरा भएको सिंहको तर्क थियो । उनले एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए । 

गत वर्ष सेप्टेम्बरमा एक डलरमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूकेले दर्ता भएको दुई महिनापछि नै एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको थियो  ।  सेयर खरिद-बिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको थियो । आचार्यको सो कम्पनीलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको शेयर होल्ड गर्ने रेनल्ड होल्डिङ्सको सतप्रतिशत सेयर बिक्री गरेको आजिएटाले एक सूचनामार्फत जानकारी गराएको थियो । 

एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ । मलेसियन कम्पनी आजियटाले नेपालमा व्यावसायिक चुनौती बढ्दै गएकाले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्नुपरेको आफ्नो विज्ञप्तीमा उल्लेख गरेको थियो ।

कान्तिपुर

Link copied successfully