कर्णाली विकास बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकले सम्हाल्यो, ढुक्क हुन बचतकर्तालाई आग्रह  

पुस ११, २०८१

कान्तिपुर संवाददाता

The National Bank has taken over the management of Karnali Bikas Bank from today, urging savers to be assured

काठमाडौँ — समस्याग्रत घोषणासँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकबाट खटिएको टोलीले सम्हालेको छ । व्यवस्थापन नियन्त्रणमा लिनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समूह हिजो (बुधबार) नै नेपालगञ्ज पुगेको थियो ।

अहिले व्यवस्थापन नियन्त्रणमा लिने काम भइरहेको संयोजक खतिवडाले कान्तिपुरलाई बताए । ‘व्यवस्थापन नियन्त्रणका लागि कागजात बुझबुझारथको काम भइरहेको छ, बैंकको अवस्था सामान्य नै छ, केही निक्षेपकर्ता आउनु भएको थियो, उहाँहरुलाई आश्वासन दिएर पठाएका छौं,’ उनले भने, ‘बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा आइसकेकाले ढुक्क हुन सम्पूर्ण निक्षेपकर्ता र सेवाग्राहीलाई आग्रह गर्दछौं ।’

पछिल्ला केही दिन यता यो बैंकमा समस्या रहेको थियो । मुख्य गरी बचतकर्ताको पैसा फिर्ता दिन नसक्नु (तरलता अभाव)का कारण बैंक समस्यामा परेपछि यो बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको हो ।

राष्ट्र बैंकको यो टोलीले कहिलेसम्म व्यवस्थापन नियन्त्रणमा लिन्छ भन्नेबारे कुनै समय तोकिएको छैन । तर, अर्को निर्णय नभएसम्मका लागि भनिएको छ । यद्यपि एक महिनाभित्रै संस्थालाई लयमा नयाँ व्यवस्थापन चयन गर्ने योजना रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

यो बैंकमा करिब ५ अर्ब निक्षेप र ३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको छ । यस बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको छैन भने निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

कान्तिपुर

Link copied successfully