काठमाडौँ — नेपाल राष्ट्र बैंक उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको टोलीले आजदेखि कर्णाली विकास बैंकको व्यवस्थापन सम्हालेको छ । अब यस बैंकका बचतकर्ताले कसरी फिर्ता पाउँछन् भन्ने प्रश्न सबैतिर छ । राष्ट्र बैंकको टोलीले पाएका कार्यादेशमा पनि पहिलो प्राथमिकर्ताको पैसा फिर्ता नै रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो बैंकमा करिब ५ अर्ब रुपैयाँ बचत (निक्षेप) र ३ अर्ब कर्जा रहेको छ । ३ अर्ब कर्जामध्ये पनि ६० प्रतिशत असल रहेको छ, जुन तत्काल असुलीको सम्भावना छ । राष्ट्र बैंकबाट गएको टोलीले यसरी गर्नेछ बचतकर्ताको पैसा फिर्ता ।
- व्यवस्थापन सम्हाले लगतै टोलीले संस्थामा रहेको नगद, ऋण दायित्व, सेयर तथा ऋणपत्रमा लगानीलगायत सम्पूर्ण वित्तीय विवरणको यथार्थ अवस्था बुझ्नेछ ।
- संस्थामा नगद भए त्यसबाटै र नभए स्रोत जुटाएर बचत फिर्ता प्रक्रिया सुरु गर्ने छ ।
- माग अनुसार सबै पैसा एकैपटक समयमा फिर्ता गर्न नसकिने अवस्थामा सीमा र दिन तोकेर पनि बचतकर्ताको पैसा फिर्ता दिनेछ ।
- बैंकमा मुख्यगरी संस्थागत र व्यक्तिगत गरी दुई प्रकारका बचत हुन्छन । बचत फिर्ता गर्दा सबैभन्दा पहिले व्यक्तिगत बचतकर्तालाई प्राथमिकता दिइन्छ । व्यक्तिगत बचतकर्ताको भुक्तानी सकिएपछि मात्र संस्थागतको पालो आउँछ ।
- व्यक्तिगत बचतकर्तामध्ये पनि साना बचतकर्ताले पहिले पैसा पाउँछन् ।
- कर्णाली विकास बैंकको मुख्य समस्या तरलता अभाव भनिएको छ । यसकारण बैंकसँगै नगदै रकम नहुन सक्छ । राष्ट्र बैंकबाट गएको टोलीलाई ऋण असुली, बैंकको सम्पत्ति बिक्री, सेयर बिक्री गर्ने, सेयरधनीहरुको सम्पत्ति रोक्कालगायत अधिकार पनि दिइएको छ ।
- यसकारण टोलीले बचतकर्ताको पैसा फिर्ताका लागि सम्पत्ति बिक्री, ऋण असुली, अन्तरबैंक सापटीलगायत सम्भव भएसम्मका सबै प्रयासमार्फत पैसा जुटाउने छ । यसरी जुटाएको पैसा बचतकर्तालाई नै फिर्ता गर्नेछ ।
- कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही सुरु गरेदेखि नै नयाँ निक्षेप संकलन र कर्जा प्रवाह रोकिएको छ । यसकारण राष्ट्र बैंकबाट गएको टोलीको मुख्य दायित्व नै पैसा जुटाएर बचतकर्ताको पैसा फिर्ता दिने नै हुनेछ ।
- यदि बैंक तथा वित्तीय संस्थासँग बचतकर्ताको निक्षेप फिर्ता गर्न पैसा भएन भने अन्तर बैंक सापटी (अरु बैंकबाट सापटी लिने) लिन्छन । अरु बैंकले पनि सापटी दिएनन वा सापटी पैसाले बचत फिर्ता गर्न नपुगेको अवस्थामा ‘अन्तिम ऋणदाता सुविधा’ अन्तरगत राष्ट्र बैंकबाट सापटी पाउँछन् ।
- तर, यो सुविधाका लागि सम्बन्धित बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेअनुसार करिब ११ प्रतिशत हुनु पर्नेछ । तर हाल यो बैंकको पुँजी कोष करिब २० प्रतिशत ऋणात्मक छ । यसकारण राष्ट्र बैंकले तोकेअनुसार न्यूनतम पुँजी कोष अनुपात कायम नगरेसम्म यो बैंकले ‘अन्तिम ऋणदाता सुविधा’पाउने छैन ।
- टोलीको प्रयास सम्पत्ति तथा दायित्वको उत्कृष्ट व्यवस्थापनमार्फत संस्था जोगाउनु नै हुने छ ।
- तर, कसैगरी संस्थामा सुधार भएन र जोगाउन नसक्ने अवस्था भएमा टोलीले संस्था खारेजीका लागि सिफारिस गर्छ ।
- संस्था खारेजीमा गएसकेपछि सम्पत्ति विक्रीमा आएको पैसा क्रमशः व्यक्तिगत बचतकर्ता, संस्थागत बचतकर्ता, साधारण सेयरधनी, संस्थापक सेयरधनी आदिलाई भुक्तानी हुने छ ।
- संस्था खारेजीमा गइसकेपछि व्यक्तिगत खातामा रहेको पाँच लाख रुपैयाँसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषले फिर्ता दिने छ ।