पुसमा तामाकोशीबाट १२५ देखि १३० मेगावाट उत्पादन हुने
लामाबगर, दोलखा — असोज १२ मा पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ । यही पुस १० को समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी थालेको केन्द्रले मंगलबारबाट जलाशय भरेर उत्पादन थालेको हो ।
विद्युत् केन्द्रको २ वटा बालुवा थिग्र्याउने पोखरीमध्ये बायाँतर्फको मर्मतपछि सञ्चालनमा ल्याएको छ । बायाँतर्फको थिग्र्याउने पोखरी मर्मत सकिएलगत्तै बाँधस्थलबाट सिधैं पानी पठाएर विद्युत् उत्पादनको सुरु गरिएको तामाकेशीका विद्युत् केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए ।
पहिरोले विद्युत् केन्द्र सञ्चालन गृह पूर्णरूपमा क्षति गरेको थियो । जसअनुसार बालुवा थिग्र्याउने पोखरी र प्रसारण लाइनको ४६ नम्बर टावरमा पनि क्षति पुगेको थियो । ‘टावर निर्माण सकिएको छ भने क्षति गरेको बायाँतर्फको डिस्यान्डर मर्मत सकिएकाले बाँधस्थलमा पानी भरेर विद्युत् गृहमा पठाएको छौं,’ उनले भने, ‘मंगलबार तामाकोशीले पुनः विद्युत् उत्पादन थालेको छ ।’ जसअनुसार मंगलबार ७ बजेर ४० मिनेटमा १ सय २० मेगावाट बिजुली उत्पादन भएको विद्युत् केन्द्रका कार्यकारी प्रमुख मोहनप्रसाद गौतमले बताए ।
‘तत्कालका लागि जलाशय भरेर ४ मध्ये २ वटा गेट खोलेर नदीको वहाव बराबरको पानी सिधैं विद्युत् गृहमा पठाएर विद्युत् उत्पादन हुने सुरु गरेका छौं,’ उनले भने । उनका अनुसार पुसमा तामाकोशीबाट १ सय २५ देखि ३० मेगावाट उत्पादन हुने अनुमान छ । त्यसपछि खोलाको पानी घट्दै जाने भएकाले उत्पादन पनि कम हुने उनले बताए ।
तामाकोशी जलविद्युत् केन्द्रलाई मर्मत गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउन माघ पहिलो साता लाग्ने जलविद्युत् केन्द्रका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । ‘बालुवा थिग्र्याउने पोखरी पूर्णरूपमा मर्मत गर्न अझै तीन साता लाग्छ,’ उनले भने, ‘पहिरोले क्षतिग्रस्त बनाएको विद्युत् सञ्चालन गृह निर्माण गर्न त्योभन्दा पनि बढी समय लाग्नेछ, दायाँतर्फको थिग्र्याउने पोखरी मर्मत गरेर विद्युत् उत्पादन पूर्ण क्षमतामा गर्ने तयारी भइरहेको छ ।’ मंगलबारबाट राष्ट्रिय प्रसारण लाइनमा १३० मेगावाटसम्म बिजुली पठाउने सकिने उनले बताए ।
‘तामाकोशीको उत्पादन बन्द हुँदा देशभर विद्युत् मागमा असर परेको छ,’ उनले भने, ‘हामी दिनरात नभनी काम गरिरहेका छौं, पिक आवरको माग धान्ने विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ ।’ यही रफ्तारमा मर्मतको काम भएर माघ पहिलो साताबाट तामाकोशीले पूर्ण क्षमतामा उत्पादन गर्ने उनको दाबी छ ।
‘तत्कालका लागि मागअनुसारको विद्युत् उत्पादन नभए पनि यो साताबाट राष्ट्रिय प्रसारण लाइनमा तामाकोशीको १ सय ३० मेगावाट विद्युत् आपूर्ति हुनेछ,’ उनले भने, ‘माघ पहिलो साताबाट तामाकोशीले पूर्ण क्षमतामा पिक आवरमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।’
पहिरोले माथिल्लो तामाकोशी विद्युत् केन्द्रको बाँधस्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी र बाँधबाट थिग्र्याउने पोखरीसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको थियो । हाल क्षति भएका सबै संरचनाको मर्मत भइरहेको र नयाँ निर्माण गर्नुपर्ने संरचनाका लागि बोलपत्रको तयारी भइरहेको उनले बताए ।
विद्युत् सञ्चालन नियन्त्रण कक्ष, थिग्र्याउने पोखरी र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो । तामाकोशी जलविद्युत् केन्द्रको डिजाइन डिस्चार्ज (पानीको वहाव) ६६ क्युसेक हो । गएको असोजको अविरल वर्षाले तामाकोशी नदीको वहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो ।
तामाकोशीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको वहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्नेछ । सोहीअनुसार असोज ११ गते जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । माथिल्लो तामाकोशीले पहिरोले क्षति गरेको संरचनाको १ अर्ब ८० करोडको बिमा दाबी गरेको उनले सिभिल, इलेक्ट्रो मेकानिकललगायत इक्युपमेन्टहरू (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) गरी १ अर्ब ८० करोड रुपैयाँको बिमा दाबी गरेको उनले बताए ।
तामाकोशीले प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्ने क्षमता छ । तामाकोशी बन्न समय लाग्ने भएपछि हिउँदको लोड व्यवस्थापन गर्ने नेपाल विद्युत् प्राधिकरणलाई चुनौती थपिएको छ । हिउँदमा प्राधिकरणले लोड व्यवस्थापन गर्न ब्याकअपका रूपमा तामाकोशीलाई चलाउँदै आएको छ । अर्ध जलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोशी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घण्टा पूर्णरूपमा सञ्चालन हुने गरेको छ ।
