हुवावे नेपालले उद्घाटन गर्‍यो प्रदर्शनी केन्द्र 

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Huawei Nepal inaugurated the exhibition center

काठमाडौँ — हुवावे नेपालले हात्तिसारस्थित हुवावे टावरमा रहेको आफ्नो प्रदर्शनी केन्द्र उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार केन्द्रको उद्घाटन गरेका थिए । केन्द्रमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको पछिल्लो ट्रेन्ड र इन्नोभेसनहरू प्रदर्शन गरिने हुवावे नेपालले जनाएको छ । 

उद्घाटनका क्रममा हुवावेका प्रतनिधिले केन्द्रका डिजिटल डिस्प्लेहरूबाट हुवावेले नेपालमा बजार विस्तार गरेयताको प्रविधि विस्तार, फाइबर टु द रुम अवधारणा, डिजिटल ऊर्जा र डेटा सेन्टरबारे जानकारी दिएका थिए । ‘उच्च क्षमताको मोड्युलर डेटा सेन्टरका लागि हुवावेले यहाँका थुप्रै सेवा प्रदायकहरूसँग काम गरेको छ,’ कम्पनको डेटा सेन्टर बिजनेस निर्देशक रोहितचन्द्र शाहले भने, ‘एनसेल, नेपाल विद्युत प्राधिकरण, डिस होम लगायतले आधुनिक डेटा सेन्टर निर्माणमा हुवावेको प्रविधि प्रयोग गर्नु भएको छ ।’ 

सञ्चारमन्त्री गुरुङले नेपाली युवा विद्यार्थीका लागि हुवावेले सिड फर द फ्युचरजस्तो प्लाटफर्म सिर्जना गरेकोमा त्यसको कदर गरे । हुवावेले डिजिटल नेपालको साझा लक्ष्य स्थापना गर्न मद्दत गर्नेमा आफू आशावादी रहेको बताए । हुवावे नेपालका प्रमुख ह्वांगजुनले पछिल्लो २५ वर्षदेखि आफूहरूले ‘नेपालमा, नेपालका लागि’ भन्ने नारासहित उपस्थित रहेको बताए । ‘युवाहरू हाम्रो डिजिटल भविष्यका बीउ हुन् र हामीले उनीहरूको सीप र क्षमता विकास गर्न कडा मेहनत गरेका छौं,’ उनले भने । 

हुवावे दक्षिण एशियाका बोर्ड निर्देशक लिन हाईले आगामी दिनमा पनि नेपालको प्रविधि विकामा सहकार्य गर्न कम्पनती प्रतिबद्ध रहेको बताए । उद्घाटन सत्रपछि हुवावेको ‘सीड्स फर द फ्युचर २०२४’ कार्यक्रमको समापन समारोह पनि आयोजना गरिएको थियो ।   

कान्तिपुर संवाददाता

Link copied successfully