माघ पहिलो साताभित्र माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा

पहिरोले क्षति गरेको बायाातर्फको डिस्यान्डर मर्मत सकिएपछि पानी भरिने, तामाकोशीको बहावअनुसारको पानी पठाएर बिजुली उत्पादन गरिने, पिक आवरमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

पुस ५, २०८१

केदार शिवाकोटी

Upper Tamakoshi fully operational by the first week of January

लामाबगर, दोलखा — गत असोज १२ को पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मत तीव्र पारिएको छ । पुस १० को समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी थालिएको छ ।

तर केन्द्रको मर्मत गरेर पूर्ण सञ्चालनमा ल्याउन कम्तीमा थप १ महिनाभन्दा बढी समय अर्थात् माघ पहिलो सातासम्म लाग्ने देखिएको तामाकोशी जलविद्युत् केन्द्रका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए । 

विद्युत् केन्द्रका दुई वटा बालुवा थिग्य्राउने (डिस्यान्डर) पोखरीको मर्मत अन्तिम चरणमा छ, जसमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत सकिएलगत्तै बाँधस्थलबाट सिधै पानी पठाएर विद्युत् उत्पादनको तयारी भइरहेको छ । 

बायाँतर्फको डिस्यान्डर मर्मत सकिन लागेकाले पुसको १० मा तामाकोशीको पानी सिधै पठाएर विद्युत् उत्पादन गरिने विद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले कान्तिपुरलाई बताए । पहिरोले विद्युत् केन्द्रलाई पूर्ण रूपमा क्षति गरेको थियो । डिस्यान्डर र प्रसारण लाइनको ४६ नम्बर टावरमा क्षति गरेको थियो । यसमध्ये टावर निर्माण सकिएको छ भने क्षति गरेको बायाँतर्फको डिस्यान्डर मर्मत सकिएपछि पानी भरिने रञ्जितको भनाइ छ । 

पहिराले क्षति गरेको हेडवर्क्स कन्ट्रोल सेन्टर भने विद्युत् उत्पादन भएपछि मात्रै निर्माण गरिने उनले जनाए । तत्कालका लागि जलाशय भरेर ४ मध्ये २ वटा गेट खोलेर नदीको बहाव बराबरको पानी विद्युत् गृहमा पठाएर बिजुली उत्पादन गरिने रञ्जितले बताए । 

‘पुस ८/९ बाट बाँधस्थलमा पानी भर्न थाल्छौं । दुईमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत आजभोलि नै सकिन्छ र सञ्चालनमा आउँछ,’ रञ्जितले भने, ‘विगतमा जस्तो पूर्ण रूपमा बाँधस्थलबाट पानी पठाइँदैन, खोलामा जति छ, उति नै पानी पठाएर विद्युत् उत्पादन गर्छौं ।’

पुसमा तामाकोशीबाट १ सय २५ देखि ३० मेगावाटसम्म बिजुली उत्पादन हुने अनुमान छ । त्यसपछि खोलाको पानी घट्दै जाने भएकाले उत्पादन पनि घट्ने उनको भनाइ छ । 

‘बालुवा थिग्य्राउने पोखरी पूर्ण रूपमा मर्मत गर्न अझै एक महिना लाग्छ,’ गौतमले भने, ‘पहिरोले क्षतिग्रस्त बनाएको विद्युत् सञ्चालन गृह निर्माण गर्न त्योभन्दा पनि बढी समय लाग्छ, डिस्यान्डर मर्मत गरेर विद्युत् उत्पादन पूर्ण क्षमतामा गर्छौं ।’ आउँदो साताबाट राष्ट्रिय प्रसारण लाइनमा १ सय ३० मेगावाटसम्म पठाउने सकिने उनले बताए । 

‘तामाकोशीको उत्पादन बन्द हुँदा देशभर विद्युत् मागमा असर परेको छ,’ गौतमले भने, ‘हामी दिनरात नभनी काममा छौं, पिक आवरको माग धान्ने विद्युत् उत्पादन गर्ने तयारी तीव्र छ ।’ माघ पहिलो साताबाट तामाकोशीले पूर्ण क्षमतामा पिक आवरमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने उनको भनाइ छ । 

पहिरोले माथिल्लो तामाकोसी विद्युत केन्द्रको बाँधस्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, डिस्यान्डर र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट) मा क्षति पुर्‍याएको थियो । क्षति भएका सबै संरचनाको मर्मत भइरहेको र नयाँ निर्माण गर्नुपर्ने संरचनाका लागि बोलपत्र आह्वान गर्ने तयारी पनि रहेको गौतमले जनाए । 

तामाकोशी जलविद्युत् केन्द्रको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । गएको असोजको अविरल वर्षामा तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो । तामाकोसीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्छ । सोहीअनुसार असोज ११ देखि जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । 

प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्ने क्षमता तामाकोसीको छ । तामाकोशी बन्न समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणलाई हिउँदको लोड व्यवस्थापन गर्न चुनौती थपिएको छ । 

केदार शिवाकोटी

Link copied successfully