बंगलादेशलाई बिजुली बेचेर ४० लाख आम्दानी

गत कात्तिक ३० मा नेपालले बंगलादेशलाई ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरेको थियो ।

पुस ५, २०८१

कान्तिपुर संवाददाता

4 million income from selling electricity to Bangladesh

काठमाडौँ — नेपालले बंगलादेशलाई बिजुली बेचेर ४० लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत कात्तिक ३० मा नेपालले बंगलादेशलाई बिजुली बिक्री गरेको थियो । उक्त दिन ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जनाए । 

गत कात्तिक ३० को विदेशी विनिमय दरअनुसार भने ४० लाख ७१ हजार रुपैयाँ हो । तर नेपालले डलरमै भुक्तानी पाउने घोषको भनाइ छ । वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५–नोभेम्बर १५ सम्म बिजुली बिक्री गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच गत असोज १७ मा सम्झौता भएको थियो ।

सम्झौता भए पनि बंगलादेशलाई बिजुली बिक्री गर्ने आयोजनाबारे भारतले अनुमति दिनुपर्थ्यो । भारतले अनुमति दिएलगत्तै नोभेम्बर १५ मा नेपालले बिजुली निर्यात गरेको हो ।

नेपालले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो ।

यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । नेपालले आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः बिजुली निर्यात सुरु गर्नेछ । 

नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गरेको छ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ ।

नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारुमा हुँदै आएको छ । बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्ने प्राधिकरणले जनाएको छ ।

मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट र भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्नेछ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच गत असोज १७ मा त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत असोज २३ मा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएपछि विद्युत् निर्यात सुरु गरिएको हो ।

कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबी २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको थियो ।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।

कान्तिपुर

Link copied successfully