काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारका लागि नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको चार महिना पुग्न लाग्दा थप काम अझै अघि बढ्न सकेको छैन । कहिले काम सुरु हुन्छ भन्ने कुरामै अझै अलमल कायमै छ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।
कोटेश्वर–कलंकी पहिलो खण्डको काम ०६९ मा सुरु भई ०७५ सालमा सकिएको थियो । सुरुको अवस्थामा दोस्रो खण्ड विस्तारमा नेपाल सरकारले पूर्वतयारीको काम नगर्दा र पछि चीन सरकारका कारण थप काम अघि बढ्न सकेको थिएन ।
अहिले पूर्व तयारीको काम सबै सकिसकेको काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । ‘नेपाल सरकारको तर्फबाट निर्माण गर्नुपर्ने सर्भिस लेन सडक बनाइराखेका छौं, त्यसमा समस्या छैन,’ उनले भने, ‘विस्तार गर्ने सडक खण्डमा पर्ने धुलो र खाल्डाखुल्डी पुर्ने काम पनि भइरहेको छ ।’ तर अहिलेसम्म फिल्डमै आएर चिनियाँ टोलीले काम गरेको जानकारी नभएको उनले सुनाए ।
चीनको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटूजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आए पनि काम अघि बढ्न सकेको छैन ।
हस्ताक्षर भइसकेपछिको नयाँ जानकारी केही आइनसकेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए । कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक बनाउन ६ वर्ष लागेको थियो । यो सडकको चर्चा भएकै ६ वर्ष बढी भइसकेको छ । पटक–पटक यस क्षेत्रका सांसदले सरकारको ध्यानाकर्षण गराउँदा पनि कामले गति लिन सकेको छैन ।
अब खरिद प्रक्रियामा जाने गरी नै चीनसँग हस्ताक्षर भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताए । ‘यसका लागि चिनियाँ पक्षबाट तयारी भइरहेको बुझिएको छ,’ उनले भने, ‘अब निर्माणमा जानेगरी नै अध्ययन हुन्छ, त्यसपछि निर्माणको काम सुरु हुन्छ ।’
दुई महिनाभित्र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्ने भन्दै ०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । टोलीले अध्ययन गरेर गए पनि रिपोर्ट दिएन । सडक विभागका अनुसार अध्ययन सुरु भएको ६ महिना भित्र डीपीआर पुरा हुने र त्यसपछि ठेक्काको प्रक्रिया अघि बढ्ने ढकालले बताए ।
