काठमाडौँ — सरकारले लक्ष्य अनुसार पुँजीगत खर्च र राजस्व संकलन गर्न नसकिरहेको बेला आन्तरिक ऋण भने धमाधम उठाइरहेको छ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र व्याजदर न्यून रहेको बेला ऋणको लागत कम (सस्तो) पर्ने भन्दै सरकारले धमाधाम आन्तरिक ऋण उठाइरहेको हो ।
सोही क्रममा विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सूचना आह्वान गरेको छ । जसअनुसार भोलि (बिहीबार) ऋणपत्र बिक्री हुने छ ।
‘विकास ऋणपत्र २०८६’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
