मर्स्याङ्दी करिडोर प्रसारण लाइन उदीपुर–भरतपुर खण्ड निर्माणले लियो गति

आगामी जेठभित्र निर्माण सक्ने गरी धमाधम काम हुँदै 

पुस ३, २०८१

कान्तिपुर संवाददाता

The construction of Marsyangdi Corridor transmission line Udipur-Bharatpur section has started

काठमाडौँ — मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसन, तनहुँको आँबुखैरनीस्थित मार्कीचोक हुँदै चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । 

मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीका सहायक खोलामा निर्मित एवं निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको सबकन्ट्र्याक लिएर निर्माण अगाडि बढाइएका छन् । उक्त खण्ड आगामी जेठभित्र निर्माण सक्ने गरी काम अगाडि बढाइएको छ ।

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्र्याक्टरबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैं सबकन्ट्र्याक लिएर निर्माण अगाडि बढाएका हुन् ।

यसमा मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा जलविद्युत् निर्माण गरी सञ्चालनमा रहेका ७ र निर्माणाधीन ७ गरी १४ जलविद्युत् आयोजनाको सहभागिता छ । उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त नदी र खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको वर्षायामको विद्युत् पूर्ण रूपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने अवस्था छ ।

तनहुँ र चितवनमा निर्माण भइरहेको प्रसारण लाइनको अनुगमन गरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार आगामी जेठभित्र काम सम्पन्न गर्न संस्थाका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताए । मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्त्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न उनले निर्माण व्यवसायीलाई निर्देशन दिए ।

प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उनले निर्देशन दिए । डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उनले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्त्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।

उदीपुर–मार्कीचोक ४० किलोमिटर प्रसारण लाइन खण्डमा ११६ वटा टावर निर्माण गर्नुपर्नेछ । त्यसमध्ये ९० वटा टावरको जग हालिएको छ । मार्कीचोक–भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्नेछ । यसमध्ये ३८ वटा टावरको जग हालिएको छ । हाल ६ ठाउँमा काम भइरहेको छ । टावर पार्ट्स, कन्डक्टर (तार) लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामग्री आपूर्ति भइसकेको छ ।

उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्नेछ ।

त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नुपर्नेछ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको आयोजना प्रमुख नारायण रेग्मीले बताए । टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले उल्लेख गरे । 

प्रसारण लाइन समयमा नबने राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मर्स्याङ्दी र त्रिशूली नदी करिडोरका जलविद्युत् प्रवर्द्धकहरूको अग्रसरता एवं सहमतिमा सबकन्ट्र्याक लिएर निर्माण सुरु गरिएको निजी क्षेत्रका ऊर्जा उत्पादकहरूका तर्फबाट निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए ।

कार्कीले प्रसारण लाइन सकिएपछि ती नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको हाल कायम रहेको वैकल्पिक व्यवस्थालाई चालु आर्थिक वर्ष २०८१/८२ भित्र अन्त्य गर्ने प्राधिकरणसँग सहमति भएको उल्लेख गरे । प्रसारण लाइन निर्माण कार्यसम्पादन अनुगमन एवम् सरोकारवालाहरूसँग समन्वय गर्न प्रवर्द्धकहरूका तर्फबाट ५ सदस्यीय अनुगमन समिति बनाइएको छ ।

मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चार वटा सबस्टेसनमध्ये उदीपुर र नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेसन निर्माणका अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छ ।

कान्तिपुर संवाददाता

Link copied successfully