काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती थालेको छ । हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने र भारतले साँझको समय (पिक आवर) मा आयात गर्न नदिएको जनाउँदै प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती थालेको हो ।
हिउँदमा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता एक तिहाइ घट्ने गरेको छ । चिसोका कारण यही समयमा विद्युत्को माग बढ्छ । हिउँदको माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । भारतबाट अहिले दैनिक ५० देखि १ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको प्राधिकरणले जनाएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा विद्युत् व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । गत असोज ११ र १२ को वर्षाले माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो ।
‘पिक समयमा आयात अनुमति पाएका छैनौं । माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो,’ घिसिङले भने भने, ‘आयोजना नचलेसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ ।’
यो आयोजनाबाट आगामी पुस १० भित्र उत्पादन सुरु गर्ने प्राधिकरणको तयारी रहेको घिसिङले बताए । पिक आवरमा अन्य ग्राहकको विद्युत् आपूर्ति भने कटौती नहुने उनले जानकारी दिए ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आगामी चैत २ (१५ मार्च २०२५) सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।
तर, पिक आवर (साँझ ५ देखि रातको ९ बजे) सम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि चैत ३ देखि आगामी असार १६ सम्म (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
गत शुक्रबार ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिँदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको छ ।
यसैगरी, दार्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रूख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । उक्त लाइनको मर्मत भइरहेको प्राधिकरणले जनाएको छ ।
