खोटाङमा कोदो, मकै र आलु उत्पादन घट्यो, धानको बढ्यो 

पुस ३, २०८१

डम्बरसिं राई

Millet, maize and potato production decreased in Khotang, while rice increased

खोटाङ — जिल्लामा यो वर्ष कोदो, मकै र आलुको उत्पादन घटेको छ । मौसम अनुकूल हुँदा उत्पादन घटेको कृषि ज्ञानकेन्द्र खोटाङका प्रमुख हरिनारायण राईले जानकारी दिए । उनका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा कोदो १५ सय ९९ मेट्रिकटन उत्पादन घटेको छ । गत वर्ष २३ हजार पाँच सय ९७ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष २१ हजार ८ सय ९७ मेट्रिकटन कोदो उत्पादन भएको राईले बताए ।

फुलेको बेला अत्यधिक वर्षाले कोदो उत्पादन घटेको राईले जनाए । 

जिल्लामा १३ हजार तीन सय ३२ हेक्टरमा कोदो खेती गरिन्छ । जिल्लामा खाद्यान्न रूपमा भन्दा पनि घरेलु रक्सी उत्पादनमा कोदोको बढी खपत हुने गरेको छ । 

त्यस्तै मकैको उत्पादनमा पनि कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष सात हजार एक सय मेट्रिकटन मकै उत्पादन घटेको राईले बताए । गत वर्ष ३९ हजार ९ सय १९ मेट्रिकटन मकै उत्पादन भएकोमा यो वर्ष ३२ हजार सात सय ३६ मेट्रिकटन उत्पादन भएको छ । खडेरी, वर्षा र हावाका कारण मकै उत्पादनमा कमी आएको राईले बताए । जिल्लामा २१ हजार ८ सय १४ हेक्टरमा मकै खेती गरिन्छ । 

हिउँदे आलुको उत्पादन पछि घटेको छ । गत वर्षको तुलनामा चार हजार दुई सय ६७ मेट्रिकटन कम उत्पादन भएको राईले सुनाए । गत वर्ष २३ हजार एक सय ३५ मेट्रिकटन आलु उत्पादन भएकोमा यो वर्ष १८ हजार ८ सय ६८ मात्र उत्पादन भएको छ । जिल्लामा २५ हजार ७० हेक्टरमा आलु खेती गरिन्छ । आलु उत्पादन घटेपछि मूल्य बढ्नुका साथै बिउसमेत अभाव भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ‘अनुकूल मौसम नहुँदा जिल्लामा मकै, कोदो र आलु उत्पादन घटेको छ,’ राईले भने, ‘उत्पादन घटेपछि मूल्य पनि बढ्ने देखिएको छ ।’

यो वर्ष धानको उत्पादन चाहिँ बढेको राईले बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजार पाँच सय ३५ मेट्रिकटन बढी धान उत्पादन भएको छ । गत वर्ष २१ हजार एक सय ८८ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष २३ हजार सात सय २३ मेट्रिकटन धान उत्पादन भएको छ । 

जिल्लामा नौ हजार तीन सय ७७ हेक्टरमा धान खेती गरिन्छ । यो वर्ष ४० हेक्टरमा लगाइएको धानबालीमा बाढीले क्षति पुर्‍याए पनि उत्पादन भने नघटेको राईको भनाइ छ । ‘यो बाढीले ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगे पनि धान उत्पादन बढ्यो,’ राईले भने, ‘धानका लागि चाहिँ यो वर्षको मौसम अनुकूलै देखियो ।’ 

यो वर्ष किवीको उत्पादन पनि बढेको छ । पाँच सय ७३ हेक्टरमा लगाइएको किवीको गत वर्षको उत्पादन चार सय ९३ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष पाँच सय मेट्रिकटन उत्पादन भएको छ । किवीको बोट वयस्क हुँदै जानु, किवीप्रति किसानको आकर्षण बढ्दै जानु लगायतका कारण उत्पादन बढेको हो । ‘यो वर्ष किवीको उत्पादन सात मेट्रिकटन बढेको छ,’ राईले भने, ‘अर्को वर्ष अझै बढ्ने अवस्था देखिन्छ ।’ 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully