पर्सा — लम्पी स्किन प्रभावित जिल्लाका किसानले अझै क्षतिपूर्ति पाएका छैनन् । प्रकोप देशभर फैलिँदा किसानलाई क्षतिपूर्ति दिने घोषणा सरकारले गरे पनि अझै किसानले क्षतिपूर्ति नपाएका हुन् ।
नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले झण्डै एक वर्ष बितिसक्दा पनि पीडित किसानले क्षतिपूर्ति नपाउनु दुःखद् भएको बताए । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका सूचना अधिकृत धनसुन्दरप्रसाद साहले केन्द्रबाटै हालसम्म क्षतिपूर्तिसम्बन्धी बजेट वा कुनै जानकारी नआएको बताए । ‘हामीले केन्द्रबाट क्षतिपूर्तिको रकम आए पीडित किसानलाई वितरण गर्ने हो,’ उनले भने, ‘हालसम्म केन्द्रबाटै रकम निकासा भएर आएको छैन, किसान बेलाबेलामा सोधखोज गर्न आइरहन्छन् ।’
२०८० वैशाखदेखि जिल्लामा गाई, गोरु तथा भैंसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको थियो । त्यस क्रममा २७ गाई, ७ बाच्छाबाच्छी, १ गोरु र १ भैंसीसहित ३६ चौपाया लम्पी स्किन रोगबाट मरेका थिए । यसबाहेक जिल्लाभरिमा १ हजार ८ सय १ चौपाया लम्पी स्किन प्रभावित भएका थिए । तीनमा १ हजार ३ सय २७ गाई, ४ सय ७२ बाच्छाबाच्छी र २ भैंसी थिए ।
सबैभन्दा बढी पर्सागढी नगरपालिकामा ७ सय, जिराभवानी गाउँपालिकामा २ सय ८५, छिपहरमाई गाउँपालिकामा ६०, कालिकामाई गाउँपालिकामा ४०, जगरनाथपुर गाउँपालिकामा ३५, पकाहामैनपुर गाउँपालिकामा २० गाई प्रभावित भएका थिए ।
गत वर्ष नै केन्द्रले करिब १६ हजार चौपायालाई लम्पी स्किनको भ्याक्सिन लगाएको थियो । जिल्लामा गत वर्ष वैशाखको अन्तिम साता पहिलो पटक ठोरी गाउँपालिकाका लम्पी स्किनको प्रकोप देखिएको थियो । त्यसपछि जिल्लाभरि विस्तार हुँदै १४ वटै स्थानीय तहमा फैलिएको थियो । गत वर्षकै भदौ अन्त्यतिर प्रकोप नियन्त्रणमा आएको थियो ।
जिल्लामा उन्नत जातको गाई र ती गाईबाट जन्मिएका बाच्छाबाच्छी तथा गोरुमा यो रोगको प्रकोप बढी देखिएको थियो । क्याप्रिपोक्स नामक भाइरसबाट सर्ने यो रोग नेपालमा यस वर्ष वैशाख २६ गते झापा, इलाम, उदयपुर, संखुवासभालगायतका जिल्लामा एकैसाथ देखिएको थियो । यो रोग लागेका चौपायालाई अत्यधिक ज्वरो आउने, झोक्राउने, खाना नखाने, छालामा ५ सेन्टिमिटरसम्म गहिरो घाउ हुने र पछि त्यो घाउ फुट्ने, खुट्टा सुन्निनेजस्ता लक्षण देखिन्छ ।
एक चौपायाबाट अर्को चौपायामा झिंगा, लामखुट्टे, उपिया आदि परजीविबाट यो रोग सर्छ । विशेषगरी र्यालबाट र घाउमा लाग्ने परजीवीबाट यो रोग बढी सर्ने गर्छ । २०७७ सालमा पनि देशैभरि यो रोग देखिए पनि पछि नियन्त्रणमा आएको थियो ।
विश्वमा सन् २०१२ मा पहिलो पटक भारत, बंगलादेश र चीनमा एकैसाथ यो रोग देखिएको थियो ।
