छुर्पी बनाउन मनरामलाई दिनहुँ १० हजार लिटर दूध दिँदै डीडीसी

पुस ३, २०८१

कान्तिपुर संवाददाता

DDC giving 10,000 liters of milk daily to Manram to make Churpi

काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) ले मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिलाई दिनको १० हजार लिटर दूध बेच्ने सम्झौता गरेको छ । नयाँ बजार खोज्ने क्रममा डीडीसीले बुधबार मनराम हिमालयनसँग दुग्ध पदार्थ बिक्री गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा डीडीसीका महाप्रबन्धक सूर्य पौडेल र हिमालयनका प्रमुख वित्त अधिकृत पुनम कार्कीले हस्ताक्षर गरे ।

सम्झौतापछि डीडीसीले दैनिक १० हजार लिटर दुग्ध पदार्थ बिक्री गर्नेछ । मनराम हिमालयनले छुर्पी बनाएर निर्यात गर्ने जनाएको छ । सम्झौतासँगै दिनको ७ लाख रुपैयाँको नयाँ बजार थपिएको डीडीसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले बताए । ‘डीडीसीले उपलब्ध गराउने एक हजार लिटर दुग्ध पदार्थबाट मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिले छुर्पी बनाउनेछ । डीडीसीले विराटनगर परियोजनाबाट दुग्ध पदार्थ उपलब्ध गराउनेछ,’ अधिकारीले भने, ‘डीडीसीले कच्चा पदार्थ उपलब्ध गराएपछि मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिले आफ्नो मागअनुसार छुर्पी बनाएर निर्यात गर्नेछ ।’

डीडीसी र हिमालयनबीच एक वर्षका लागि सम्झौता भएको छ । एक वर्षपछि सम्झौता पुनः नवीकरण गरिने डीडीसीले जनाएको छ । सुधारका आयोजनाअन्तर्गत डीडीसीले आफ्नो प्रोडक्ट चीन निर्यातको पहल गरिराखेको जनाएको छ । ‘डीडीसीकै प्रोडक्ट मात्रै बेच्ने गरी चीनमा निर्यातका लागि पहल गरिराखेका छौं, भन्सारमा डकुमेन्टहरू पठाएका छौं,’ महाप्रबन्धक सूर्य पौडेलले भने, ‘चीन निर्यात भए डीडीसीको प्रोडक्ट गोदाममा थन्किँदैन ।’

कान्तिपुर

Link copied successfully