अमेरिका बस्ने ६.३ प्रतिशत नेपालीले अनौपचारिक च्यानलबाट परिवारजनलाई पैसा पठाउने गरेका छन् ।
काठमाडौँ — पछिल्लो डेढ दशकमा अमेरिकामा नेपालीको संख्या ६० प्रतिशतले बढेको र तीमध्ये करिब ६० प्रतिशतले नेपालमा रेमिट्यान्स पठाउने गरेको एक अध्ययनले देखाएको छ । थिंक ट्यांक संस्था ‘सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)’ ले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले अमेरिका बस्ने नेपालीको ठूलो हिस्साले नियमित रेमिट्यान्स पठाउने गरेको देखाएको हो ।
आईआईडीएसले ‘नेपाली माइग्रान्ट ड्रिम्स इन द अमेरिकन ल्यान्डस्केप : एन एक्सप्लोरेसन अफ द नेपाली डायस्पोरा इन द युनाइटेड स्टेट्स’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार अमेरिकाबाट सन् २०२३ मा १.२८ अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो नेपालको कुल रेमिट्यान्सको १२ प्रतिशत हो । रेमिट्यान्स आप्रवाहका लागि नेपालका मुख्य स्रोत साउदी अरबिया, मलेसिया, भारत, कतार र अमेरिका हुन् ।
‘१२ सय नेपालीमाझ हामीले सर्वेक्षण गरेका थियौं,’ प्रतिवेदनका लेखकमध्ये एक अरुणराज जोशीले भने, ‘हाम्रो नतिजा अमेरिकी जनगणनाको नतिजासँग मेल खाएको हुँदा यसले अमेरिकाका नेपालीहरूको आर्थिक–सामाजिक वास्तविकताको एउटा प्रतिबिम्ब प्रस्तुत गर्छ ।’ अमेरिकाको नेपाली डायस्पोराले नेपाल पठाउने वार्षिक औसत रेमिट्यान्स ८ हजार ६ सय ६६ डलर रहेको अध्ययनले देखाएको छ ।
त्यहाँका करिब २ लाख नेपालीमध्ये ५९.६ प्रतिशतले नियमित रेमिट्यान्स पठाउने र ४०.४ प्रतिशतले कुनै पनि रकम नपठाउने गरेको पनि अध्ययनमा उल्लेख छ । त्यहाँका करिब २० प्रतिशत नेपालीको वार्षिक आय शून्य डलरदेखि १५ हजार डलरसम्म रहेको, १२ प्रतिशतको आय १५ हजारदेखि ३० हजार डलर, ७.४५ प्रतिशतको आय ४५ हजारदेखि ६० हजार, ७ प्रतिशतको ७५ हजारदेखि ९० हजार डलर र २ प्रतिशतको आम्दानी वार्षिक १ लाख ३५ हजारदेखि १ लाख ५० हजार डलर छ । अमेरिकाबाट रेमिट्यान्स रकम तुलनात्मक रूपमा कम भए पनि प्रतिव्यक्ति योगदान भने अन्य देशको तुलनामा उच्च रहेको अध्ययनको मुख्य निचोड छ ।
कतारबाट पठाइने प्रतिव्यक्ति रेमिट्यान्स औसतमा वार्षिक ४ हजार ३ सय २७ डलर छ भने साउदी अरेबियाबाट ३ हजार ३ सय ६१ डलर र मलेसियाबाट २ हजार ८ सय ७६ डलर मात्र छ । सबैभन्दा धेरै आप्रवासी कामदार रहेको यूएईबाट नेपाल आउने औसत प्रतिव्यक्ति रेमिट्यान्स ३ हजार ८ सय १ डलर छ । ‘अमेरिकाबाट पठाइने प्रतिव्यक्ति रेमिट्यान्स कतारको भन्दा १.५१ गुणा, साउदी अरेबियाको भन्दा १.९५ गुणा, मलेसियाको भन्दा २.२८ गुणाले बढी छ,’ रिपोर्ट सार्वजनिक गर्ने क्रममा अध्ययन प्रतिवेदनका लेखक विभव प्रधानले भने, ‘नेपाल भित्रिने कुल रेमिट्यान्समा अमेरिकाबाट आउने रेमिट्यान्सको योगदान करिब ११.६२ प्रतिशत छ ।’
अमेरिकाका ६.३ प्रतिशत नेपालीले अनौपचारिक च्यानलबाट पनि परिवारजनलाई रकम पठाउने गरेको अध्ययनमा उल्लेख छ । अमेरिकामा ८० हजारभन्दा धेरै आम्दानी गर्ने ७०.६ प्रतिशत नेपालीले १० हजारभन्दा कम रेमिट्यान्स पठाउने गरेका छन् भने २१ प्रतिशतले १० हजारदेखि ३० हजार डलर र १.२ प्रतिशतले मात्रै ७० हजारभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् ।
अमेरिकाका नेपालीमध्ये १३.२ प्रतिशतले नेपालमा र ९.५ प्रतिशतले अमेरिकामा लगानी गर्ने गरेको देखिन्छ । त्यसमध्ये ५५.६ प्रतिशतले नेपालको घरजग्गा क्षेत्रमा, ३५.२ प्रतिशतले बैंक तथा वित्तीय क्षेत्र, २०.४ प्रतिशतले जलविद्युत् तथा स्वच्छ ऊर्जा, ११ प्रतिशतले पर्यटन, ७.४ प्रतिशतले शिक्षा तथा कृषि र ६.५ प्रतिशतले सूचना प्रविधि एवं मिडिया क्षेत्रमा लगानी गर्ने गरेका छन् ।
‘अधिकांशले काठमाडौंमा लगानी गर्ने भएकाले यहाँको घरजग्गाको मूल्य अकासिनुको एउटा कारण हुन सक्छ,’ लेखक प्रधानले भने । अध्ययनमा सहभागीमध्ये ५८.२ प्रतिशतले नेपालबाट अमेरिका जाँदा १० हजार डलरभन्दा कम खर्च गरेको बताएका थिए भने ७.५ प्रतिशतले ५० हजारभन्दा बढी खर्च गरेर अमेरिका आएको प्रतिक्रिया दिएका थिए ।
आप्रवासनका सन्दर्भमा नेपालमा कति रेमिट्यान्स भित्रिन्छ भन्नेमा धेरै चर्चा भए पनि नेपालबाट बाहिरिने रकममा समेत चासो दिनुपर्ने अध्ययनमा उल्लेख छ । गत वर्ष मात्रै वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए भने विदेशिएका विद्यार्थीले १२५ अर्ब रुपैयाँ विदेश लगेका थिए ।
यस सर्वेक्षणमा पनि सबैभन्दा धेरै ५८ प्रतिशतले प्रमुख रूपमा शैक्षिक अवसरको खोजी वा उच्च शिक्षाका लागि अमेरिका आएको बताएका थिए । अमेरिकामा रहेका एकतिहाइ अर्थात् ३५ प्रतिशत प्रवासी नेपाली प्रविधि क्षेत्रमा आबद्ध छन् भने १६ प्रतिशत स्वास्थ्य क्षेत्र, ८ प्रतिशत वित्त, ७ प्रतिशत शिक्षा, ७ प्रतिशत फुड तथा होटल सेवा क्षेत्रमा कार्यरत छन् ।
