घरमा प्रयोग भइसकेको पानी र दिसाजन्य फोहोरको व्यवस्थापन हुन नसक्दा बर्सेनि उपत्यकामा हैजा, झाडापखाला र जन्डिसजस्ता रोगको प्रकोप
काठमाडौँ — उपत्यकामा बर्सेनि बसोबास गर्ने जनसंख्या बढिरहँदा घरबाट निस्कने फोहोर पानी व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ । प्रयोग गरिसकेको पानी होस् या दिसाजन्य फोहोर नै किन नहोस्, यसको व्यवस्थापनमा कठिनाइ थपिँदै गएको छ । त्यसो त २०७८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३ सय ८६ छ ।
यति धेरै जनसंख्याका लागि एउटा मात्र ढल प्रशोधन केन्द्र सञ्चालनमा छ । त्यो प्रशोधन केन्द्र पनि सीमित क्षेत्रलाई मात्र लक्ष्य गरेर बनाइएको हो । उपत्यकामा सञ्चालनमा आएको यो एउटा मात्र प्रशोधन केन्द्र भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपआयोजना निर्देशक एवं सूचना अधिकारी उद्धव नेपालले बताए । ‘यो प्रशोधन केन्द्रमा गोकर्णेश्वर, माकलबारी, बौद्ध, चाबहिल र मित्रपार्क क्षेत्रको ढल आउँछ, त्यसलाई प्रशोधन गर्ने हो,’ उनले भने, ‘पूरा सहरका लागि यो पर्याप्त होइन, अन्यत्र प्रशोधन केन्द्र बनिरहेकाले भोलिका दिनमा सहज हुनेछ ।’
अन्यत्रको ढल प्रशोधनका लागि दातृ निकायको सहुलियतपूर्ण ऋणमा बनिरहेका अन्य प्रशोधन केन्द्रको निर्माण सुस्त छ । कहिले निर्माण सकिने हो, टुंगो छैन । अहिले गुह्येश्वरीको गौरीघाटस्थित अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति हाताभित्र ढल प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालन गरिएको छ, जहाँ ढल तथा फोहोर पानी प्रशोधन गरिन्छ ।
सन् १९९७ मा ठेक्का भएर २००० मा सञ्चालनमा आएको केन्द्रमा प्रतिसेकेन्ड १ सय ९० लिटरका दरले ढल प्रशोधन गर्न मिल्छ, जुन नेपाल सरकारको लगानीमा बनेको हो । मेलम्चीबाट १७ करोड लिटर पानी आइसकेपछि त्यसको ८० प्रतिशत ढलमा परिणत हुने अनुमान गर्दै उक्त प्रशोधन केन्द्रको क्षमता विस्तार गरिएको हो । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा वेस्ट वाटर म्यानेजमेन्ट प्रोजेक्ट उपत्यकामा मेलम्चीको पानी आपूर्तिसँगै सुरु भयो । त्यसका लागि सन् २०१३ जुनमा एडीबी र नेपाल सरकारबीच ऋण सम्झौता भयो ।
मेलम्चीको पानी पछिसम्म दैनिक ५१ करोड लिटरसम्म पुर्याइने लक्ष्यलाई दृष्टिगत गर्दै पहिलो चरणमा गुह्येश्वरीकै पुरानो ढल प्रशोधन केन्द्रलाई अत्याधुनिक बनाइएको छ । यसको क्षमता बढाएर ३ करोड २४ लाख लिटर प्रतिदिन ढल प्रशोधन गर्न सक्ने पारिएको छ । २ अर्ब ८० करोड खर्चिएर २०२० मा यसको स्तरोन्नति गरिएको र यसलाई १० वर्षसम्म ठेकेदार कम्पनीले आफैं चलाउने तय भएको हो । अहिले त्यहीअनुसार चलाइएको छ ।
ललितपुरको धोबीघाटमा ३ करोड ७० लाख लिटरका दुई वटा, भक्तपुरको सल्लाघारीमा १ करोड ४२ लाख लिटर र पाटनको कोट्खुमा १ करोड ७५ लाख लिटर प्रतिदिन ढल प्रशोधन हुने गरी ६ अर्ब रुपैयाँमा प्रशोधन केन्द्र निर्माण हुँदै छ । पहिलो चरणमा काम पूरा नभएपछि ठेक्का तोडेर पुनः नयाँ ठेक्का गरिएको हो । अहिले भारतीय कम्पनी भीए टेक बाबागसँग सम्झौता गरेर डिजाइनको काम भइरहेको छ । सन् २०२६ जुनसम्म दोस्रो चरणमा भएको ठेक्काको काम सक्नुपर्नेछ । यी केन्द्र सबै सञ्चालनमा आएपछि उपत्यकाको २० देखि २२ लाख जनसंख्यालाई सुविधा पुग्नेछ, जुन पर्याप्त होइन ।
गुह्येश्वरीमा सञ्चालनमा रहेको केन्द्रबाट प्रतिदिन १ करोड ६२ लाख लिटर ढल प्रशोधन हुने आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत मेलम्ची उपआयोजना–२ का ‘वेस्ट वाटर’ प्रोजेक्ट म्यानेजर योगेन्द्र चित्रकार बताउँछन् । ‘ढल प्रशोधन केन्द्र सञ्चानमा नआउँदा र यसले काम नगरेको अवस्थामा ढललाई के गर्ने भनेर विकल्पमा सानो सुरुङ पनि बनाइएको छ,’ उनले भने, ‘गुह्येश्वरी पछाडिको जंगल छेउछेउ दुई मिटर चौडाइ भएको ५ सय ७२ मिटर लामो सुरुङ छ, यसरी बनाएको सुरुङबाट तिलगंगामा ढल खसालिन्छ ।’ पशुपति क्षेत्रमा नपुग्ने गरी ढललाई यसरी बाइपास गरिएको उनले जनाए । जसलाई हरेक दुई वर्षमा सफा गर्नुपर्नेमा त्यो हुन सकेको छैन ।
नियमित सफाइ, मर्मतसम्भार र दक्ष जनशक्तिको अभावले ढल व्यवस्थापनमा चुनौती थपेको छ । ‘एकपल्ट ढल संरचना बनाएपछि सधैंका लागि पुग्छ भन्ने सोच छ,’ चित्रकारले भने, ‘रेखदेख, सरसफाइ र मर्मतसम्भार नगर्ने परिपाटी ठूलो चुनौती हो ।’ प्रशोधन केन्द्रका संरचना बनिसकेपछि काठमाडौंमा प्रयोग भइसकेको फोहोर पानी, ढल र शौचालयजन्य फोहोरको समस्या समाधान हुन्छ त ? ‘हुँदैन, काठमाडौंमा वाग्मती नदी मात्र छैन । वाग्मतीमा मिसिन आउने ७ वटा प्रमुख सहायक नदी छन्, ती सहायक नदीमा मिसिन आउने साना नदीनाला पनि छन्,’ उनले भने, ‘बस्तीको ढल प्रशोधन केन्द्रसम्म ल्याउने व्यवस्था जबसम्म गरिँदैन, खोलाछेउमा बनाइएका एक/दुई वटा प्रशोधन केन्द्रले सबै समस्या सम्बोधन गर्न सक्दैन ।’
यसका अतिरिक्त ढल प्रशोधन केन्द्र बनेर मात्र नहुने र ढल सञ्जाल राम्रोसँग सञ्चालनमा नआए प्रशोधन केन्द्र सञ्चालनमा पनि चुनौती हुने चित्रकारले सुनाए । विज्ञहरूका अनुसार सेप्टिक ट्यांकमा जम्मा भएको लेदोलाई व्यवस्थापन गर्न ढल सञ्जाल र ठूला आकारका प्रशोधन केन्द्र बनाइरहनु पर्दैन । सानो प्रशोधन केन्द्र बनाए पनि पुग्छ । त्यसका लागि धेरै जग्गा पनि चाहिँदैन । ढल प्रणाली नभएको र सेप्टिक ट्यांकी मात्र भएको ठाउँमा सरसफाइ सेवा पुर्याउन राज्यले नीति बनाउन जरुरी रहेको उनको भनाइ छ ।
चित्रकारका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ५० वटा सेप्टिक ट्यांकीको दिसाजन्य लेदो फाल्ने ट्यांकर गुड्छन् ।
यी ५० वटा ट्यांकरले दिनको औसत दुई/तीन ट्रिप गर्छन् । यसअनुसार करिब ६ सय घनमिटर दिसाजन्य लेदो उत्पादन भइरहेको छ, जसलाई अहिले ढल प्रणालीमै जोड्ने गरी खसालिन्छ ।
यसको बेग्लै विसर्जन हुनुपर्ने भए पनि त्यो हुन सकेको छैन । पहिला–पहिला चोभारको तल सिधै खोलामा हाल्ने गरिन्थ्यो । दिसाजन्य लेदो बोक्ने ट्यांकर आधिकारिक रूपमा चल्ने गरेका छैनन् । यस विषयमा पनि सरकारले व्यवस्थापन र नियमन गर्न आवश्यक भइसकेको उनले सुनाए । ढल प्रणालीमा कति र कुन प्रकारको फोहोर मिसाउने भन्ने मापदण्ड छैन ।
यस्ता संरचना बनाउनेबारे सम्बन्धित निकायबीच एकीकृत अवधारणा बन्न सकेको छैन । काठमाडौं उपत्यकाकै ढल प्रणाली निर्माणमा विभिन्न निकायबीच समन्वय छैन, प्रतिस्पर्धा मात्र छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), महानगरपालिका, नगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण, वडा कार्यालयहरू र टोल–टोलमा गठित उपभोक्ता र टोल सुधार समितिले ढल निर्माण गरिरहेका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले चक्रपथबाहिरका पालिकाहरूमा ढल प्रणाली बनाइरहेको छ । सडक विभागले बर्खाको पानी व्यवस्थापन गर्न बनाएको ढलमा स्थानीयले घरको ढल जोड्ने गरेका छन् । यी निकायबीच समन्वय र सहकार्य नभएको उनको भनाइ छ ।
त्यति मात्र होइन, स्मार्ट सहरको कुरा भइरहँदा काठमाडौं उपत्यकामा ढल प्रणाली नेटवर्क बनाउने एकीकृत अवधारणा र कार्यान्वयन मोडालिटी बनेको छैन । ‘जोसँग स्रोत छ, जसलाई आवश्यकता पर्छ, उसले आफ्नै हिसाबले बनाएर ढल प्रणालीमा जोडिदिन्छ,’ चित्रकारले भने, ‘आपसमा समन्वयको कमी छ ।’
फोहोर पानीले सधैं हैजा
घरमा प्रयोग भइसकेको पानी र दिसाजन्य फोहोरको व्यवस्थापन हुन नसक्दा त्यसले बर्सेनि उपत्यकामा हैजा, झाडापखाला र जन्डिसजस्ता रोग निम्तिरहेका छन् । गत साउनमा ललितपुरस्थित गोदावरी र इमाडोल क्षेत्रमा १४ जना हैजाका बिरामी फेला परे । स्वास्थ्यकर्मीका अनुसार पानीको स्रोतमा दिसाजन्य फोहोर मिसिँदा हैजाको संक्रमण देखिएको थियो । ०७९ असारमा पनि काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा बागबजार क्षेत्रमा हैजा देखापरेको थियो ।
दूषित पानी र खानाका कारण काठमाडौं उपत्यकामा बर्सेनि हैजा मात्रै होइन, झाडापखाला, जन्डिस, टाइफाइड, छालासम्बन्धी रोगका बिरामी बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट हेमन्तचन्द्र ओझाले बताए । ‘दूषित पानी वा खानाबाट नै हैजा, झाडापखाला र जन्डिस हुने हो,’ ओझाले भने, ‘अहिले गाउँ खाली छन्, सहर भरिएका छन्, जहाँ सबैखाले मानिसको बसोबास छ । तर सहर रोगसँग जुध्न तयार छैन ।’
लामो समय फोहोर थुपि्रँदा कुहिएर तरल (झोल) बनी बिस्तारै पानीका स्रोततिर जाने गर्छन् । फोहोरमा बसेका झिँगा खाने कुरामा पुग्छन् । र, यी दुई माध्यमबाट मानिसमा रोग सरिरहेको छ ।
उपत्यकासहित विभिन्न जिल्लामा खानेपानी र सरसफाइसम्बन्धी काम गर्दै आएको वातावरण एवं जनस्वास्थ्य संस्था ‘एन्फो’ का कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले ठोस र तरल फोहोरको चुनौती थपिएको छ । ‘लिच्छविकालमा काठमाडौंमा बनाइएका धाराहरूबाट निस्किएको पानी कता जान्छ, अहिले पनि हामी देख्दैनौं,’ उनी भन्छन्, ‘तर, अहिले ढल बनाएको १० वर्षमै टालिन्छ ।’
एन्फोले करिब चार वर्षअघि गरेको अध्ययनअनुसार राजधानी उपत्यकामै ११ प्रतिशतको घरमा मात्र गतिलो सेप्टिक ट्यांकी छ, बाँकी ८९ प्रतिशतमा सामान्य खाल्डो मात्र बनाइएको छ । ‘छिटो नभरियोस् भनेर पानी रसाएर जाने गरी त्यस्तो चुहिने सेप्टिक ट्यांकी बनाएको देखिन्छ,’ श्रेष्ठले भने, ‘यसरी रसाउने सेप्टिक ट्यांकीहरू जनस्वास्थ्यका दृष्टिले खतरापूर्ण छन् ।’
सेप्टिक ट्यांकीका रूपमा सामान्य खाल्डो मात्र बनाउँदा त्यसमा जम्मा हुने दिसापिसाब रसाएर पानीको स्रोतहरूमा मिसिन पुग्छ र पानीको भूमिगत स्रोत प्रदूषित हुने श्रेष्ठले औंल्याए । सेप्टिक ट्यांकबाट आएको दिसाजन्य फोहोरलाई प्रशोधन गर्ने केन्द्र काठमाडौं उपत्यकामा कतै पनि छैन, साताको दुई ट्रक फोहोर व्यवस्थापन गर्ने लुभुको नमुना केन्द्रबाहेक । त्यसैले सेप्टिक ट्यांकी सफा गरेर निकालिएको फोहोर पनि ढलमै मिसाउने गरिएको छ ।
उपत्यकामा हैजा र अरू सरुवा रोगको साइनो ‘वेस्ट वाटर’ अर्थात् प्रयोग भइसकेको फोहोर पानी, ढल र शौचालयजन्य फोहोरसँग सिधै जोडिएको विज्ञहरू सुनाउँछन् ।
