चार महिनामा भित्रियो ५ अर्ब ७६ करोड विदेशी लगानी

पुस १, २०८१

कान्तिपुर संवाददाता

5 billion 76 million foreign investment was received in four months

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आउँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ । चालु आर्थिक वर्षको चार महिनामा खुद विदेशी लगानी ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–कात्तिकमा २ अर्ब ७४ करोड ३९ लाख रकम  बाहिरिदाँ ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ । गत आर्थिक वर्षको चार महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ मात्रै भित्रिएको थियो ।  

उद्योग विभागका अनुसार चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार अटोमेटिक रुटमार्फत १०९ उद्योगमा १ अर्ब ६२ करोड ७३ लाख  र अप्रुभल रुटमार्फत १५४ उद्योगमा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार सबैभन्दा बढी पर्यटनमा ६६ प्रतिशत, सेवा क्षेत्रमा २३ प्रतिशत, उत्पादनमा ७ प्रतिशत, कृषिमा ३ प्रतिशत र सूचना तथा प्रविधिमा १ प्रतिशत लगानी प्रतिबद्धता आएको जनाएको छ ।  

चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएकोले पनि प्रतिबद्धताभन्दा भित्रिने रकम न्यून रहेको तथ्यांकले देखाउँछ । विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारी बताउँछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully