ऊर्जा लगानीकर्ता प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

नेपाल हाइड्रो डेभलपर्सको अध्यक्ष हुँदा प्रधानले भित्री सूचना लिई कानुनविपरीत सेयरको भित्री कारोबार गरेर लाभ लिएको अभियोग, साढे २६ करोड बिगो दाबी

पुस १, २०८१

कान्तिपुर संवाददाता

Money laundering case against energy investor Pradhan

काठमाडौँ — ऊर्जा लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । दोस्रो बजारमा गैरकानुनी रूपमा सेयरको भित्री कारोबार गरेको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा गत शुक्रबार मुद्दा दर्ता गरेको हो । 

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडमा अध्यक्ष हुँदा प्रधानले भित्री सूचना लिई कानुनविपरीत सेयरको भित्री कारोबार गरेर लाभ लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रधानविरुद्ध २६ करोड ३९ लाख रुपैयाँ मागदाबी गरिएको सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम अर्यालले बताए । 

‘नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले आफ्नो परिवारको सदस्यमार्फत सो कम्पनीको सेयर दोस्रो बजारमा खरिद गरेको सम्बन्धमा प्राप्त उजुरीका आधारमा नेपाल धितोपत्र बोर्डमार्फत अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा प्रधान स्वयंले आफ्नो सेयर बिक्री नगरे तापनि परिवारको सहयोग लिई सेयर बिक्री गर्ने कार्य सफा मनसायले गरेको देखिएन,’ अदालतमा दायर मुद्दामा भनिएको छ, ‘प्रधानले धितोपत्रसम्बन्धी नीति नियमको छिद्र प्रयोग गरी श्रीमती, छोरा तथा छोरीका नाममा सेयर बिक्री गरेको देखिँदा संस्थागत गतिविधिभन्दा पनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिई धितोपत्र ऐन २०६३ को दफा ९७ र ९८ विपरीत बजारमा जालसाजीयुक्त कारोबार गरेको देखिन्छ ।’ 

उक्त कम्पनीमा आफू सञ्चालक हुँदा र हटेपश्चात् प्रधानले श्रीमती, अविवाहित छोरी र छोरोका नाममा बिक्री गरेको सेयर देखिन्छ । प्रधानले अंशबन्डामार्फत सेयर बाँडफाँट गरेको जनाए पनि कारोबारमा त्यो विवरण उल्लेख नभएकाले जालसाझीयुक्त भएको ठहर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले देखाएको छ ।

‘बयानका क्रममा प्रधानले अंशबन्डापश्चात् कारोबार गरेको व्यहोरा उल्लेख गरे पनि घरायसी नामसारीका बखत सम्बन्धित धितोपत्र दलाल तथा सीडीएससीबाट प्राप्त विवरण अनुसन्धान गर्दा अंशबन्डा भएको उल्लेख नगरी कारोबार भएको देखिन्छ,’ दायर मुद्दामा भनिएको छ ।

प्रधानमाथि धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्थाविपरीत कारोबार गरेका आरोप छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (एनएचडीएल) को चार्ट मूल्य विश्लेषण गर्दा प्रधानले आफ्नो सेयर बिक्री गर्न परिवारका सदस्यलाई नामसारीको सुरुवात गरेको मिति ०७८ साउन १४ मा उक्त सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता६२५ थियो ।

उक्त मूल्य दुई महिनाको अन्तिम मूल्यसँग तुलना गर्दा ८४ प्रतिशतको वृद्धि भएको देखिन्छ ।  ‘०७८ असार १४ मा उक्त सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३४० रहेको देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ, ‘उक्त सेयरको मूल्यमा दोस्रो बजारमा भएको 

उच्च वृद्धिबाट लाभ प्राप्त गर्न दूषित मनसायले ०७८ भदौ १३ मा आरोपी प्रधानले उक्त कम्पनीको सञ्चालकबाट राजीनामा दिनुअघि ९१ हजार ५ सय कित्ता सेयर र राजीनामा दिएपश्चात् पटकपटक गरी ४ लाख १३ हजार ६२ कित्ता सेयर परिवारका मानिसलाई नामसारी गरी तत्पश्चात् पटकपटक बिक्री गरी लाभ प्राप्त गरेको देखिन्छ ।’ 

सोही अभियोगमा धितोपत्र बोर्डबाट छानबिन भए सेयरको जालसाझीयुक्त कारोबार गरेको अभियोगमा उनीविरुद्ध मुद्दासमेत अभियोजन भएको थियो । कानुनअनुसार बिक्री गर्न नपाउने अवस्थाको सेयर बिक्री गरी उनले आर्जन गरेको रकम स्वतः कसुरबाट प्राप्त एवं कसुरसँग सम्बन्धित भई गैरकानुनी स्रोतको रकम भएको पुष्टि हुने बोर्डले गरेको अनुसन्धानमा देखिन्छ । 

प्रधानले एनएचडीएल कम्पनीमा अध्यक्ष हुँदा श्रीमती विमला श्रेष्ठ प्रधानका नाममा ०७८ साउन १४ मा कम्पनीको ३० हजार ५०० कित्ता र अध्यक्षबाट राजीनामा दिएपछि ०७८ कात्तिक २९ मा १ लाख ५० हजार कित्ता, ०७८ पुस ५ मा ९७ हजार २५० कित्ता नामसारी गरेका थिए । यस्तै, ०७८ माघ २० मा १ लाख कित्ता गरी कुल ३ लाख ७७ हजार ७५० सेयर घरायसी नामसारी गरेर सोही सेयर धितोपत्रको दोस्रो बजारमार्फत बिक्री गरेको अभियोग पत्रमा उल्लेख छ । 

त्यस्तै, प्रधानले कम्पनीको अध्यक्ष हुँदा नै छोरा चेतन प्रधानका नाममा ०७८ साउन १४ मा ३० हजार ५०० कित्ता, अध्यक्षबाट हटेपछि ०७८ असोज ५ मा ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता सेयर घरायसी नामसारी गरेको उल्लेख छ । प्रधानले अध्यक्ष हुँदा अविवाहित छोरी निभिताका नाममा ०७८ साउन १४ मा ३० हजार ५०० कित्ता र ०७८ असोज ५ मा ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता नामसारी गरेको पाइएको छ ।

अध्यक्षबाट हटेर छोरीका नाममा सेयर नामसारी गरेर बिक्री गरेपछि उनले निभितालाई ०७८ कात्तिक १५ देखि सोही कम्पनीमा सञ्चालक बनाएका छन् । बोर्डको अध्ययनमा नै प्रधानले श्रीमती विमलाका नामबाट ३ लाख ६६ हजार ५८० कित्ता सेयर १८ करोड ५० लाख ७२ हजार ९४७ रुपैयाँमा कारोबार गरेको पाइएको छ । प्रधानले छोरा चेतनका नामबाट ५ हजार ३६४ कित्ता सेयर खरिद तथा ७० हजार ४३४ कित्ता बिक्री गरी ७५ हजार ७९८ कित्ता सेयरको ४ करोड ८ लाख ४९ हजार ३६५ रुपैयाँ कारोबार गरेका छन् ।

प्रधानले छोरी निभिताका नामबाट २०० कित्ता खरिद तथा ६३ हजार ५२१ कित्ता बिक्री गरी ६३ हजार ७२१ कित्ता सेयरको कुल रकम ३ करोड ८० लाख ५७ हजार १५३ रुपैयाँको सेयर कारोबार गरेका छन् । प्रधान ०७१ साउन १९ देखि ०७८ भदौ १३ सम्म नेपाल हाइड्रो डेभलपर्सको सञ्चालक समितिको अध्यक्ष भएका थिए । 

प्रधानसँग उक्त हाइड्रोको ४ लाख ३८ हजार ७५० कित्ता सेयर रहेको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रधानविरुद्ध बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजायसमेत माग गरिएको छ ।

कान्तिपुर

Link copied successfully