माग बढेका बेला ग्यास आपूर्तिमा समस्या

समयमै आपूर्ति नहुँदा एउटा मात्रै सिलिन्डर भएका उपभोक्ताले ग्यास सिद्धिएको ५–७ दिनसम्म कुर्नुपर्ने समस्या

मंसिर ३०, २०८१

राजु चौधरी

Problems with gas supply at times of increased demand

काठमाडौँ — ग्यास बिक्रेता महासंघका अनुसार गर्मीभन्दा जाडोमा खाना पकाउने ग्यासको खपत करिब ३० प्रतिशतले बढ्छ । आधिकारिक तथ्यांक नभए पनि चिसोमा ग्यास खपत बढ्ने नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको पनि भनाइ छ ।

केही दिनयता उपत्यकाको तापक्रम घट्दै गएको छ । यही बेला बढी खपत हुने ग्यासको आपूर्तिमा भने समस्या भइरहेको छ । 

ग्यास ढुवानीमा अवरोधको कारण नभए पनि नेपाल, तारा, नेपाल गण्डकी, एचपी, राजधानी, त्रिवेणी, ओम, आरतीलगायत ग्यास बजारमा अभाव देखिएको हो । यी ब्रान्डको ग्यास अभाव देखिन थालेपछि ग्यास बिक्रेता महासंघले शुक्रबार आयल निगमलाई जानकारी गराएको छ ।

‘बजारमा नेपाल ग्यास दसैंदेखि नै अभाव थियो । यो ग्यास सबैभन्दा बढी उपत्यकामै बिक्री हुन्छ तर धेरैजसो डिलर बिक्रेतामा ग्यास नै छैन,’ एक ग्यास बिक्रेताले भने, ‘पछिल्लो समय अन्य ग्यासमा पनि त्यही समस्या देखियो । जाडो महिनामा बढी ग्यास खपत हुन्छ तर नेपाल, तारा, नेपाल गण्डकी, एचपी, राजधानी, त्रिवेणी, ओम, आरतीलगायतको ग्यास कमै पाइन्छ ।’ 

समयमै ग्यास आपूर्ति नहुँदा एउटा मात्रै ग्यास सिलिन्डर भएका उपभोक्तालाई धेरै समस्या हुने ती बिक्रेताले बताए । ‘विगतमा तत्काल भर्न सकिन्थ्यो, अहिले अभाव छ । एउटा मात्रै सिलिन्डर भएको उपभोक्ताको घरमा ग्यास सकिए कम्तीमा ५/७ दिन कुर्नुपर्छ,’ ती बिक्रेताले भने, ‘यही समस्याबारे निगमलाई जानकारी गराएका छौं ।’ 

माग बढेका बेला ग्यास आपूर्तिमा समस्या भएको महासंघका अध्यक्ष चन्द्र थापाले पनि पुष्टि गरे । दसैंयता केही डिलरमा ग्यास कमै मात्रामा आएको उनले बताए । ‘जाडो महिना भनेको ग्यासको माग बढ्ने सिजन हो । गर्मीको तुलनामा जाडो महिनामा करिब ३० प्रतिशतले माग बढ्छ तर सर्वसाधारणले समयमै पाएका छैनन्,’ अध्यक्ष थापाले भने, ‘सरकार र ग्यास उद्योगीले जतिसक्दो छिट्टै सहज बनाउनुपर्छ ।’

बजारमा कम ग्यास आएको सन्दर्भमा शुक्रबार निगमलाई जानकारी गराएको उनले बताए । ‘केही कम्पनीको धेरै कम ग्यास आएको छ । कारण के हो, त्यसबारे निगमको ध्यानाकर्षण गराएका छौं,’ थापाले भने, ‘ग्यास उद्योगले ग्यास ढुवानी नगरेको हो कि निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्नमा कन्जुस्याइँ गरेको हो, त्यसबारेमा निगमलाई ध्यानाकर्षण गराएका छौं ।’

मुलुकभर ५९ ग्यास उद्योग छन् । ती ग्यास उद्योगका लागि निगमले मासिक करिब ४५ हजार टन ग्यासको पीडीओ जारी गर्दै आएको छ । त्यस हिसाबले बजारमा अभाव हुनु नपर्ने निगमको तर्क छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले ग्यास ढुवानीमा कुनै समस्या नभएको बताए । उनले बजारमा नेपाल ग्यासमा केही समस्या देखिए पनि अन्य ग्यास अभाव नभएको दाबी गरे ।

‘नेपाल ग्यासमा व्यवस्थापनको समस्या भन्ने सुनेको छु, त्योबाहेक ग्यास अभाव हुनुपर्ने कारण छैन । अन्य ग्यासको हकमा त्यति समस्या आइसकेको छैन,’ अध्यक्ष घिमिरेले भने । ग्यास सिलिन्डरको प्रयोगकर्ता र सिलिन्डर संख्या बढेकाले सोहीअनुसार कोटा वृद्धि नहुँदा पनि केही प्रभाव परेको उनले बताए । 

निगमले ०७८ सालमा गरेको ग्यास सिलिन्डर प्रमाणीकरणअनुसार मुलुकभर १ करोड ४४ लाख सिलिन्डर छन् । पछिल्लो समय सिलिन्डरको सख्या थपिएको छ । तर यी सिलिन्डरको अवस्थाबारे नियामक निकायले खासै चासो दिएको छैन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवस्थापनको कमजोरीले ग्यासमा समस्या देखिएको बताए । बजारमा देखिएको अभाव हटाउन तालुक निकायले तत्काल हस्तक्षेप गर्नुपर्ने उनले बताए ।

‘निगम राजनीतिक र आर्थिक रूपमै सबल छ । ढुवानीमा अवरोध भएर ग्यास अभाव हुनुपर्ने कुनै कारण पनि छैन तर बजारमा केही कम्पनीको ग्यास अभाव छ,’ तिमिल्सिनाले भने, ‘यसले निगम व्यवस्थापनको कमजोरी रहेको प्रस्ट हुन्छ । अभाव हुन नदिन तालुक निकायले तत्काल हस्तक्षेप गर्नुपर्छ ।’

निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले नेपाल ग्यासबाहेक अन्यमा समस्या नभएको दाबी गरे । उनले गर्मीमा ४० हजारदेखि ४५ हजार टन पीडीओ जारी गरेकामा जाडो महिनामा ४५ हजार टनभन्दा बढी नै जारी भएको बताए ।

‘अहिले समस्या देखिएको नेपाल ग्यासमा हो, निगमले मागेजत्तिकै पीडीओ दिएको छ, तर पीडीओ उठाएनन् । ग्यास लोडिङमा समस्या नभए पनि उद्योगीले पर्याप्त ल्याइदिएनन्,’ गोइतले भने, ‘त्यही कारण नेपाल ग्यासमा केही समस्या हो । अन्यमा त्यति समस्या छैन ।’ 

उनका अनुसार नेपाल ग्यासले मासिक करिब २ हजार टन पीडीओ पाएको छ । उद्योगीको मागअनुसार पीडीओ पनि थप्दै जाने उनले बताए । ‘उपत्यकामा सबैभन्दा बढी नेपाल ग्यासकै सिलिन्डर छ तर ग्यास थोरै ल्याइदियो, त्यही भएर केही समस्या देखिएको छ,’ गोइतले भने, ‘अहिले देखिएको समस्याबारे बुझ्न उद्योगीलाई चिठी काटेका छौं । सोमबार छलफलमा बोलाएका छौं ।’ 

निगमले ग्यासको पीडीओ जारी गरेपछि ग्यास उद्योगीले भारतीय आयल कर्पोरेसन्स (आइओसी) को बरौनी, दुर्गापुर, पारादीप, हल्दिया, मथुरा रिफाइनेरीबाट ग्यास आयात गर्छन् । भारतीय ट्रान्सपोर्टरमार्फत ग्यास ढुवानी हुन्छ ।

नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले ग्यास अभाव हुनुको मुख्य दुई कारण रहेको दाबी गरे । उनका अनुसार भारतीय ट्रान्सपोर्टरले भाडा बढाउन दबाब दिँदै आएका छन् । भाडा बढाइदिन भन्दै उनीहरूले चिठीसमेत पठाएका छन् । 

‘भाडा निगमले बढाइदिने हो, भाडा नबढाउँदा ढुवानी राम्रोसँग गरेनन् । ग्यास बुलेट समयमा नआउँदा केही समस्या देखियो,’ भण्डारीले भने । भण्डारीका अनुसार अर्को कारण भारतीय ट्रान्सपोर्टरले पुराना बुलेट हटाएर नयाँ राख्न थालेका छन् । ढुवानीमा ग्यास बुलेटको कम उपलब्धता हुँदा पनि समस्या देखिएको उनको दाबी छ । ‘सोमबारदेखि ढुवानीमा सहज हुन्छ,’ उनले भने, ‘भाडा बढाउने विषय भने यथावत् नै छ ।’

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully