व्यावसायिक तरकारी खेतीमा जथाभावी विषादी प्रयोगले मौरी मर्ने र भाग्ने समस्या बढेको किसानको गुनासो
पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान ढेकुलडाँडाकी मीना कार्कीले मौरी पाल्न थालेको ३० वर्ष भयो । घरमै तयार गरेका काठे र विकासे गरी उनको अहिले २५ घारमा मौरीपालन छ । पछिल्लो समय मौरी मर्ने र भाग्ने समस्या बढेको उनले बताइन् ।
व्यावसायिक तरकारी खेती गर्नेले जथाभाबी विषादी प्रयोग गर्दा यस्तो समस्या बेहोर्नुपरेको कार्कीको गुनासो छ । ‘मौरी पाल्न थालेको यतिका वर्ष भयो, यस्तो समस्या कमै मात्र थियो । अहिले बढेको छ,’ उनले भनिन् ।
रिब्दीकोटकै भैरवस्थानका होमबहादुर भट्टराईको ३५ घार मौरी छन् । केही घारका मौरी भागेका छन्, कतिपय मरेका छन् । ‘मौरी भाग्ने, घार छाड्ने र मर्ने समस्या दुई वर्षयता बढेको छ,’ उनले भने, ‘चरनको समस्या छैन तर छाड्ने र मर्ने भएको छ ।’ तरकारी तथा खुर्सानी खेती गर्नेहरूले विषादीको जथाभाबी प्रयोग गरेको असर बिस्तारै देखिन थालेकाले यस्तो भएको हुन सक्ने भट्टराईको अनुमान छ ।
माथागढी गाउँपालिका–४ झडेवाका नरबहादुर पल्लीको घरगोठ, बारीको कान्ला, खरबारीको पानी ओत्ने कुनाकानी, ओडारमा गरी झन्डै ९० वटा मौरीघार छन् । उनले परम्परागत काठे घारमा मौरी पाल्दै आएका छन् । उनको घरको आम्दानीको स्रोत नै काठे घारको मह बनेको छ । ‘अहिले मौरी भाग्ने र मर्ने समस्या देखिएको छ,’ उनले भने, ‘समस्या समाधानका लागि कसैबाट पहल भएको छैन ।’
थोरै लगानी र कम मिहिनेतमा धेरै फाइदा लिन सकिने मौरीपालनलाई जीविकोपार्जनको माध्यम बनाउनेहरू गाउँगाउँमा छन् । तर प्राविधिक सेवा, मह बिक्रीका लागि साथ सहयोग पाउन नसकेको उनीहरूको गुनासो छ । नरबहादुरले विगतमा वर्षमा कम्तीमा एक लाख ५० हजारको मह बिक्री गरेर आम्दानी गर्ने गरेको बताए । ‘पछिल्लो समयमा आधा घारमा पनि मौरी छैन,’ उनले भने, ‘मौरी बिस्तारै मासिँदै गएको छ । अधिकांश घार रित्तै भएका छन् । भएका घारमा पनि मौरीको झुन्ड कम भएको छ ।’
पाल्पामै चरनको राम्रो व्यवस्था भएको क्षेत्र मरमरा हो । वार्षिक तीनदेखि पाँच पटकसम्म मह काढ्न यस क्षेत्रमा सकिने कृषि प्राविधिक बताउँछन् । पछिल्लो समय मरमराका धेरै किसानलाई पुराना र नयाँ घारमा मौरी पाल्न कठिनाइ भएको छ ।
गाउँका अधिकांशले बारी, खरबारी र जंगलमा काठको मुढामा मौरी पालेको भए पनि मर्ने र भाग्ने समस्या बढेको झडेवा मरमराकी भीमा दिशा मगरले बताइन् । जंगली माउखाने, बछिउँ, अरिंगाल, कमिलाबाट बचाउन सकिएको तर भाग्ने र मर्ने समस्याबाट मुक्ति नपाएको उनको भनाइ छ । हिउँदमा लामो समयसम्मको खडेरी, चरनको अभाव, बढी वर्षाका कारण पनि मौरी नबसेको हुन सक्ने किसानको अनुभव छ ।
जलवायु परिवर्तनको असर पनि हुन सक्ने कृषि विज्ञ तथा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए । ‘यस वर्ष अधिक र खडेरी पनि लामो समय भएकाले समस्या भएको हुन सक्ने अनुमान गरेका छौं,’ उनले भने ।
कृषि ज्ञान केन्द्रले पछिल्लो समय मौरीपालन गर्ने साना किसानलाई अनुदानका कार्यक्रम सञ्चालन गरेको छैन । लुम्बिनी प्रदेश सरकारले माथागढी–४ झडेवा मरमरामा सञ्चालन गरेको स्मार्ट कृषि कार्यक्रम असफल भएपछि सामान्य तालिमका लागि बजेट पठाउने गरेको छ ।
केन्द्रको तथ्यांकअनुसार पाल्पामा २० हजार बढी मौरीका गोला पुगेको छ भने मौरीघार, गोला र मह बाहिरी जिल्लामा निकासी हुने गरेको छ । प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापनसँगै मौरीपालन गर्ने क्षेत्रमा विषादी प्रयोगलाई न्यूनीकरण गर्न सकिए मौरीपालनलाई थप व्यावसायिक बनाउन सकिने कृषि विज्ञ बताउँछन् ।
