बाढीपहिरोले पुर्याएको क्षतिको बिमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिए पनि निकै कम मात्र फर्छ्योट
काठमाडौँ — गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिमा गत बुधबार (मंसिर २६) सम्म तीन हजार पाँच सय ४९ वटा आवेदनबाट १२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । तर, हालसम्म एक अर्ब १९ करोड ५४ लाख मात्र दाबी भुक्तानी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
बिमा दाबीमध्ये हालसम्म करिब साढे ९ प्रतिशत मात्र भुक्तानी भएको हो ।
गत बुधबारसम्म आवेदन परेकामध्ये एक हजार ५ सय १४ वटा दाबी भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ । बाढीपहिरोजस्तो विशेष परिस्थितिले पुर्याएको क्षतिको बिमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बिमा क्षेत्रको नियामक निकाय प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको थियो । तर तथ्यांकअनुसार हालसम्म निकै कम मात्र फर्छ्योट भएको हो ।
अप्ठ्यारो परिस्थितिमा सरल र छिटो दाबी भक्तानी दिँदा बिमाप्रति जनविश्वास बढ्ने भन्दै प्राधिकरणले प्रक्रिया छोट्याएर छोटो बाटो (फास्ट ट्र्याक) बाट भुक्तानी दिन निर्देशन दिएको थियो । तर फर्छ्योट रकम हेर्दा उक्त निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पुष्टि हुन्छ ।
बिमा दाबी किन ढिलाइ भएको हो भन्ने सम्बन्धमा आइतबार वा सोमबार निर्जीवन बिमा कम्पनीहरूलाई डाकेर छलफल गर्न लागिएको बिमा प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
‘केही ठूला बिमा दाबीमा कागजात नै नपुगेको जानकारी आएको छ । अत्यावश्यक कागजात नै नपुगेपछि कम्पनीले भुक्तानी दिने भन्ने हुँदैन । कागजात पुगेका दाबीको हकमा भुक्तानी भइरहेको जानकारी आएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यद्यपि ढिलाइबारे कम्पनीहरूसँग जानकारी मागेका छौं ।’
गत बुधबारसम्म परेका दाबीमध्ये एक हजार ७ सय २५ दाबीमा ९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबर सम्पत्ति बिमाअन्तर्गतको छ, जसमा ६ सय ५१ वटा दाबीमा ८७ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत ३ सय ८ वटा दाबीमा २ अर्ब ६० करोड ६५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । तर हालसम्म ५३ वटा दाबीमा ४ करोड ४३ लाख ८६ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ । बाँकी दाबी मोटर बिमा (निजी), मोटर बिमा (सार्वजनिक), सामुद्रिक बिमा, कृषि बाली बिमा, पशुपन्छी बिमा र विविधअन्तर्गत रहेको प्राधिकरणको तथ्यांक छ । ती बिमामा पनि निकै कम मात्र भुक्तानी भएको छ ।
बिमा कम्पनीहरू भने भुक्तानीमा ढिलाइ नभएको दाबी गर्छन् । आवश्यक र प्रक्रिया पुगेको सबै दाबीको धमाधम भुक्तानी भइरहेको उनीहरूको भनाइ छ । दाबी रकम अस्वाभाविक रहेको, आवश्यक कागजात पनि नपुगेको, बिमक सम्पर्कमै नआएको लगायतको हकमा दाबी भुक्तानीमा ढिलाइ भएको हुन सक्ने बिमा कम्पनीहरूले जानकारी दिएका छन् ।
दाबी फर्छ्योटका लागि आवश्यक अन्य कागजातको सूचीसमेत छोटो पार्न र बिमा सर्भेयरलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न पनि प्राधिकरणले भनेको छ । हालको विशेष परिस्थितिमा बिमा दाबी बिस्तारै थपिँदै जान सक्ने र बाढी तथा पहिरोका कारण बिमालेख हराएको पनि हुन सक्नेतर्फ ध्यान दिन पनि बिमा कम्पनीहरूलाई प्राधिकरणले यसअघि नै निर्देशन दिइसकेको छ ।
प्रादेशिक रूपमा सबैभन्दा बढी दाबी वाग्मती प्रदेशमा छ । यस प्रदेशमा हालसम्म तीन हजार ९२ वटा दाबी संख्यामार्फत १० अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बराबर दाबी परेको छ । तीमध्ये एक हजार तीन सय पाँच वटा दाबीअन्तर्गत १ अर्ब ७ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।
धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ । यस प्रदेशमा दुई सय ६१ वटा दाबी संख्यामार्फत करिब एक अर्ब १५ करोड ९५ लाख बराबरको दाबी परेको छ । तीमध्ये हालसम्म एक सय ५० वटा दाबीमा ८ करोड ६९ लाख २८ हजार रुपैयाँ भुक्तानी भएको छ । यसैगरी मधेशमा एक सय वटा दाबीअन्तर्गत २५ करोड ३६ लाख रुपैयाँ बराबरको माग दाबी भएको थियो । त्यसमा २८ वटा दाबीअन्तर्गत ९४ लाख ७८ हजार रुपैयाँ भुक्तानी भएको छ ।
लुम्बिनीमा ४७ वटा दाबीअन्तर्गत ९ करोड ५३ लाख रुपैयाँ माग दाबी गरिएको थियो । यसमा १९ वटा दाबीमा २ करोड १५ लाख ६ हजार रुपैयाँ भुक्तानी भएको छ । गण्डकी प्रदेशमा ३३ वटा दाबीअन्तर्गत ६ करोड ३२ लाख ९६ हजार रुपैयाँ माग दाबी भएको चार वटाको १५ लाख ४३ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ ।
गत बुधबारसम्म कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ६ वटा दाबी परेका छन् । सोही अवधिसम्म दुवै प्रदेशमा चार/चार वटा दाबी भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ ।
