दस वर्षअघि प्रतिमन १ लाख २० हजार रुपैयाँ पुगेको अलैंचीको मूल्य त्यसपछि एक लाखभन्दा तलै थियो, यसपालि प्रतिमन १ लाख ७ हजारसम्म पुग्यो
काठमाडौँ — अलैंचीको उत्पादन घटेपछि मूल्य बढेको छ । यस वर्ष प्रतिमन (४० किलो) १ लाख ७ हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य अहिले १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । १० वर्षपछि मूल्य बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।
‘दस वर्षअघि प्रतिमन १ लाख २० हजार पुगेको थियो, त्यसपछि एक लाखभन्दा तलै सीमित थियो, यसपालि प्रतिमन १ लाख ७ हजारसम्म पुग्यो,’ उनले भने । गत वर्ष प्रतिमन ९० हजार रुपैयाँमा कारोबार भएको उनले सुनाए । पछिल्ला तीन वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ ।
कृषि मन्त्रालयको तथ्यांकले समेत अलैंचीको उत्पादनमा घटबढ भइरहेको देखाउँछ । आर्थिक वर्ष २०७६/७७ मा ९ हजार ५४५ टन अलैंची उत्पादन भएको थियो । त्यसयता उत्पादन घटेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार आव २०७७/७८ मा ८ हजार २८९ टन, २०७८/७९ मा ८ हजार ७१४ र २०७९/८० मा ८ हजार ६७४ टन मात्रै उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ को सरकारी तथ्यांक आइनसके पनि ५ हजार २ सय टन मात्रै उत्पादन भएको भट्टराईले जनाए ।
‘यसपालि नेपालमा मात्र नभई भारत र भुटानमा समेत घटेको छ,’ उनले भने, ‘तीनै देशमा उत्पादन घट्दा माग बढ्यो र मूल्य पनि बढ्न थाल्यो ।’ जलवायु परिवर्तनको प्रभाव, रोग किरालगायत विविध कारणले अलैंची उत्पादन घट्दै आएको उनको बुझाइ छ । नेपालमै उत्पादित अलैंची आन्तरिक खपतभन्दा बढी निर्यात हुने भएकाले उत्पादन बढाउन जोड दिनुपर्ने भट्टराईले बताए । ‘सबै जिल्लामा अलैंची खेती विस्तार भइरहेको छ, खेती विस्तार भएपनि उत्पादन घट्दो क्रममा छ, सरकारले यसमा ध्यान दिनुपर्छ,’ उनले भने ।
नेपाली अलैंचीको बजार भारतमा सीमित हुने गरे पनि पछिल्लो समय तेस्रो मुलुकमा समेत निर्यात हुने थालेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा १ अर्ब ९० करोड ११ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । यस अवधिमा १२ लाख ६ हजार २५० किलो निर्यात भएको विभागले बताएको छ ।
चार महिनामा सबैभन्दा बढी अलैंची भारतमा निर्यात भएको छ भने फ्रान्स र अस्ट्रेलियामा समेत निर्यात भएको विभागको भनाइ छ । भारतमा १ अर्ब ९० करोड २ लाख रुपैयाँको १२ लाख ५ हजार ९ सय किलो अलैंची निर्यात भएको छ । यस्तै फ्रान्समा ७ लाख २० हजार र अस्ट्रेलियमा १ लाख ७३ हजार रुपैयाँको अलैंची निर्यात भएको विभागले जनाएको छ ।
गत आवको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिको निर्यात २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार उक्त अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो ।
हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघको भनाइ छ । मुलुकमा उत्पादित अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ । आव २०८०/८१ मा ७ अर्ब ९४ करोड ९ लाख र आव २०७९/८० मा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँको अलैंची निर्यात भएको थियो ।
