उकालो लाग्दै बजार भाउ, तरकारी सबैभन्दा महँगो

तरकारीको मूल्य सबैभन्दा धेरै ३३.९९, दाल तथा गेडागुडीको १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ र घिउ तथा तेलको ९.२९ प्रतिशतले बढ्यो 

मंसिर २८, २०८१

यज्ञ बञ्जाडे

Market prices are on the rise, vegetables are the most expensive

काठमाडौँ — पछिल्ला महिनामा बजार भाउ निरन्तर उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत कात्तिकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.६० प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.२२ प्रतिशत बिन्दुले बढी हो । ०८० कात्तिकमा यस्तो मूल्य वृद्धिदर ५.३८ प्रतिशत थियो ।

गत कात्तिकको औसत मूल्यवृद्धि पछिल्लो ९ महिनायताकै उच्च हो । यसअघि गत माघमा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.०१ प्रतिशत थियो । त्यसयता न्यून दरमै भए पनि लगातार रूपमा बजार भाउ उकालो लागिरहेको छ । सोही क्रममा गत कात्तिकमा साढे ५ प्रतिशतभन्दा माथि पुगेको हो । पछिल्ला महिनामा मूल्यवृद्धि उकालो लाग्नुको कारण भारतीय मूल्यवृद्धिमा आएको वृद्धि हो । गत असोजमा ६.२१ प्रतिशत रहेको भारतको औसत मूल्यवृद्धि कात्तिकमा केही घटेर ५.४८ प्रतिशत कायम भएको छ । गत असोजमा भारतबाट आयात गर्ने वस्तु तथा सेवासँगै मूल्यवृद्धि पनि नेपाल भित्रिएको जानकार बताउँछन् । नेपालमा आपूर्ति व्यवस्थापनमा सुधार नगरेसम्म मूल्यवृद्धि नियन्त्रण गर्न अप्ठ्यारो हुने उनीहरूको भनाइ छ ।

पछिल्ला महिनामा लगातार उकालो लागिरहेको मूल्यवृद्धिको तथ्यांकले वृद्धिकै संकेत देखाएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘मुख्य गरी खाद्यान्नको मूल्यवृद्धि चापमा परेको देखिन्छ । आपूर्ति व्यवस्था व्यवस्थित र प्रभावकारी नबनाएसम्म यस्तो प्रकारको मूल्यवृद्धिमा तीव्र उतारचढाव आइरहने देखिन्छ,’ उनले थपे, ‘भारतीय मूल्यवृद्धिको सिधै प्रभाव नेपालको मूल्यवृद्धिमा परेको छ ।’ 

अहिले खाद्य पदार्थले नेतृत्व गरेको समग्र मूल्यवृद्धि भएकाले खाद्य व्यवस्था, खाद्यान्न आपूर्ति, आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा सुधार नगरेसम्म मूल्यवृद्धि उकालो लाग्ने संकेत देखिएको उनले बताए । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.६५ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहको मूल्यवृद्धि दर क्रमश: ५.९८ प्रतिशत र ४.९९ प्रतिशतले थियो ।

चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीको वार्षिक मूल्य सबैभन्दा धेरै ३३.९९, दाल तथा गेडागुडीको १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ र घिउ तथा तेलको ९.२९ प्रतिशतले बढेको छ । तर यो समूहअन्तर्गत रहेको मरमसलाको मूल्यवृद्धि १.४१, चिनी तथा चिनीजन्य पदार्थको १.२८ र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि १०.४१, मदिराजन्य पेय पदार्थको ६.३५, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । 

गत कात्तिकमा ग्रामीण क्षेत्रको मूल्यवृद्धि ६.१९ र सहरी क्षेत्रका ५.३९ प्रतिशतले बढेको छ । ‘प्रदेशगत रूपमा गत कात्तिकमा कोशीमा ७.१९, मधेशमा ५.७२, वाग्मतीमा ५.३५, गण्डकीमा ४.६९, लुम्बिनीमा ५.१०, कर्णालीमा ३.२१ र सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत छ,’ राष्ट्र बैंकले भनेको छ । गत कात्तिकमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ५.४२, तराईको ५.७२, पहाडको ५.१५ र हिमालको ६.७८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

चार महिनामा सवा ५ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो । गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड थियो,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । 

मासिक रूपमा हेर्दा गत कात्तिकमा १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । असोजमा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब रुपैयाँ रेट्यिान्स भित्रिएको थियो । अघिल्ला महिनाहरूको प्रवृत्ति हेर्दा पनि कात्तिकमा कम रेमिट्यान्स आउने गरेको र सोही प्रवृत्ति यस वर्ष पनि देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख भट्टले बताए । 

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुन: श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८ सय ४१ थियो ।

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघ्यो 

गत कात्तिक मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो साढे १० प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।

‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनालाई आयात धान्न पुग्ने बराबर विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । 

शोधनान्तर बचत २ खर्ब ५ अर्ब 

गत कात्तिकसम्ममा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा छ ।

गत कात्तिकसम्म चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको पहिलो चार महिनामा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully