रिलायन्स सुगरले थाल्यो उखु क्रसिङ 

मंसिर २७, २०८१

शंकर आचार्य

Reliance Sugar started sugarcane crushing

पर्सा — रिलायन्स सुगर मिल बाराले बिहीबारदेखि उखु क्रसिङ सुरु गरेको छ । उद्योगका संचालक राजकुमार अग्रवालले दैनिक १५ देखि २० हजार क्विन्टल उखु क्रसिंङ गर्ने लक्ष्यका साथ उद्योगको क्रसिङ मेसिन बिहीबारदेखि संचालनमा ल्याइएको बताए ।

‘यस वर्ष गढीमाई मेलाको कारण ढिलो गरी उखु क्रसिङ सुरु गर्नु पर्‍यो,’ उनले भने, ‘अघिल्ला वर्षहरु जस्तै मंसिर १० मै उखुको क्रसिङ गर्ने योजना थियो, तर गढीमाइ मेलामा पर्सा र बाराका सडकमा सवारी साधनको अत्यधिक चाप बढेर उखुको ढुवानी गर्न समस्या हुने भएकाले मेलाको भीडभाड घटेलगत्तै क्रसिङ सुरु गरेका हौं ।’ 

यसै सातादेखि किसानलाई उखुको चलान वितरण गरेर उखु संकलन पनि गर्न थाालिएको उनले बताए । ‘एक पटक मेसिन चालु गरेपछि त्यसलाई चाहिने पर्याप्त उखु उद्योग परिसरमै मौज्दात गर्नु पर्छ, नत्र त्यो आत्मघाती कदम हुन जान्छ,’ उनले भने, ‘हामीले पनि दैनिक १५ देखि २० हजार क्विन्टल उखु क्रसिङ हुने सुनिश्चितता गरेर मात्र मेसिन संचालन गरेका हौं ।’ 

यस वर्ष तीनदेखि साढे तीन महिनाको अवधिमा ३० देखि ३२ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगले बारा, पर्साका किसानबाटै यति परिमाणमा उखु संकलन गर्ने लक्ष्य राखेको छ । यो उद्योग पर्सा. बाराका किसानको उखु किन्ने एकमात्र चिनी मिल हो । 

किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साहले अघिल्ला वर्षहरुमा मंसिरको पहिलो सातातिरै रिलायन्स सुगर मिलले उखुको क्रसिङ सुरु गर्ने गरेकोमा यस वर्ष अत्यन्त ढिला भएको बताए । उनले रौतहटको बाबा बैजुनाथ सुगर मिलले गढीमाई मेला अघि नै उखु क्रसिङ गरेको र छिमेकी भारतस्थित सीमावर्ती क्षेत्रहरुमा रहेका चिनी मिलले पनि १ महिना अघि नै उखु क्रसिङ सुरु गरिसकेको बताए । 

यसरी उखु क्रसिङ ढिलो गरी सुरु गर्दा उखुमा पानीको मात्रा घटेर किसानलाई घाटा र उद्योगीलाई लाभ हुने उनले बताए । ढिलो गरी काट्दा उखुबाट चिनीको मात्राको रिकभरी बढी आउने हुँदा उद्योगलाई लाभ र किसानलाई घाटा हुन्छ । पर्सामा ४ हजार र बारामा ६ हजार गरी यस वर्ष १० हजार बिघामा उखु खेती गरिएको उनले बताए । 

नेपाल किसान संघ पर्साका पूर्वअध्यक्ष असर्फी साहले सरकारले यस वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ तोकेर किसानलाई निराश बनाएको गुनासो गरे । सरकारले गतवर्षभन्दा जम्मा २० रुपैयाँ उखुको मूल्यमा वृद्धि गरेको र यस वर्ष रिलायन्स सुगर मिलले ढिलो गरी उखु खरिद गर्दा किसानलाई दोहोरो घाटा हुन गएको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully