पर्सा — गत बिहीबारदेखि धान खरिद खुला गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले बुधबारसम्म ८ सय क्विन्टल धान खरिद गरेको छ ।
सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएपछि किसानले खाद्यलाई भन्दा निजी क्षेत्रलाई धान बिक्री गर्दै आएका थिए । तर, यस वर्ष भने हालसम्म खाद्यले भन्दा निजी क्षेत्रले धानको खरिद मूल्य कम दिइरहेकाले किसानले धान बिक्री गर्न खाद्य संस्थान रोजेका हुन् ।
शाखाका सूचना अधिकृत समिर दाहालका अनुसार गढीमाई मेला र गहुँको रोपाइको चटारोका कारण किसानले अपेक्षित रुपमा धान बिक्री गर्न ल्याएका छैनन् । ‘हामीले धान किन्न थालेदेखि गढीमाई मेला र सँगै गहुँको रोपाइँको चटारो पनि किसानलाई छ,’ उनले भने, ‘तैपनि हामी उत्साहित छौं, दैनिक धान लिएर आउने किसानको संख्या बढ्दो छ, कतिपय किसान आएर वस्तुस्थिति बुझ्ने र गहुँको बीउ छरेलगत्तै आउने बताइरहेका छन् ।’
खाद्यले वीरगन्जमा यस वर्ष जिरा मसिनो धान प्रतिक्विन्टल ४ हजार र सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसामा खरिद गरिरहेको छ । किसानले हालसम्म सोना मन्सुली धान मात्र बिक्रीका लागि ल्याएको दाहालले बताए ।
जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको हो भने सोना मन्सुली धानको समर्थन मूल्य यसअघि नै संघीय सरकारले निर्धारण गरेको थियो ।
यस वर्ष केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा प्राप्त भएको पनि दाहालले बताए । ४२ हजार क्विन्टलमध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्ने बताइएको हो ।
गत वर्ष निजी क्षेत्रले भन्दा खाद्यले कम मूल्य दिएपछि किसानले धान नल्याउँदा वीरगन्ज शाखाले धान खरिद गर्न सकेको थिएन । सामान्यतया खाद्यले धान खरिद सुरु गर्नुअघि यस भेगमा निजी क्षेत्रले धान खरिद सुरु गरी सक्छन् ।
