काठमाडौँ — पूर्वअर्थमन्त्रीहरूले अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । सुधारको काममा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने पूर्वअर्थमन्त्री वर्षमान पुनले बताए । बुधबार संघीय संसद्को अर्थ समितिको वैठकमा अर्थमन्त्री बोल्दै पूर्वअर्थमन्त्री पुनले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका हुन् ।
सरकारले पुँजीगत खर्च वृद्धिलाई प्राथमिकता दिनुपर्ने आत्मविश्वास नभएको भन्दै निजी क्षेत्रले लगानी विस्तार गर्न नसकिरहेको बेला सरकारले तत्काल नतिजा आउने क्षेत्रमा खर्च बढाएर अर्थतन्त्र चलायमान बनाएर निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्नेमा उनको जोड थियो ।
‘अहिलेको अर्थमन्त्रीज्यूलाई पनि काम गर्न त्यति सजिलो छैन, किनकि पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बनाउनु भएको बजेट म अर्थमन्त्री हुँदा सार्वजनिक गरे, त्यो बजेट अहिलेको अर्थमन्त्रीले कार्यान्वयन गर्दै हुनुहुन्छ,’ उनले थपे, ‘यद्यपि बजेट यथार्थ धरातलमा टेकेर आएको छ, धेरै महत्त्वाकांक्षी छैन ।’
अर्थतन्त्रका कतिपय सूचकहरुमा सुधारको संकेत देखिएकाले सरकारले सुधारको प्रयासलाई निरन्तरता दिनुपर्ने पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बताए । ‘लगानीकर्ताको आत्मविश्वासमा कमी आएको छ, बैंकमा पर्याप्त तरलता छ, ब्याजदर न्यून छ तर कर्जाको माग छैन,’ उनले भने, ‘यसको कारण आफ्नो लगानी सुरक्षित छ भन्ने आत्मविश्वास लगानीकर्तामा छैन ।’
यद्यपि मुलुकले पहिलो पटक गरेको रेटिङमा सन्तोषजनक नजिता पाएकाले विदेशी लगानीकर्ता आउने सम्भावना रहेको पनि उनले बताए । यस्तै, भन्सारमा बेथिति बढीरहेकाले तत्काल सुधारको थालनी गर्नु पर्ने ससदहरुले आग्रह गरेका छन् । भन्सार बिन्दुमा सुधार नहुदा राजस्व घटेकोले तत्काल सुधार गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
सांसद पदम गिरीले भन्सार विन्दुमा एक्सरे मेसिन बिग्रेर थन्किँदा पनि किन बनाउन नसकेको भनेर प्रश्न गरे । ‘अरु सुधार गर्न सक्दैनौँ भने पनि कम से कम बिग्रेको मेसिन प्रतिस्थापन गरौं,’ उनले भने, ‘सुधारको ससानो काम पनि नगर्ने अनि कसरी बढ्छ त राजस्व ?’
सांसद उपेन्द्र यादवले भन्सार विन्दुमा चुहावट बढेकाले पनि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको बताए । ‘भन्सार कडाइको नाममा सर्वसाधारणले दु:ख पाउने तर ठूला व्यापारीहरूलाई लाई सधैँ चैन रहेको देखिन्छ,’ उनले भने । नेपाली उपभोक्ताकै कारणले सीमावर्ती भारतीय बजारहरू चहलपहल बढ्दा त्यस क्षेत्रका नेपाली बजारहरूमा सुनसानको अवस्था रहेको उनले बताए ।
यद्यपि अर्थ सचिव रामप्रसाद घिमिरेले राजस्व संकलनमा सुधार भइरहेको दाबी गरे । ‘गत वर्षको तुलनामा पहिलो चौमासमा राजस्व संकलन बढेको छ, चुहावट नियन्त्रणका लागि भरपूर प्रयास भइरहेको छ,’ उनले भने । सचिव घिमिरेले राजस्वमा सुधारको दाबी गरिरहे पनि सरकारको वार्षिक र मासिक लक्ष्यको तुलनामा निकै कम मात्र संकलन भइरकेको छ ।
