गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप 

मंसिर २५, २०८१

एजेन्सी

Google unveiled a new quantum chip called 'Willow'

काठमाडौँ — गुगलले कम्प्युटिङ क्षेत्रमा हलचल मच्चाउने र अभूतपूर्व मानिएको क्वान्टम कम्प्युटिङ चिप ‘विलो’ सार्वजनिक गरेको छ । यो चिपले विश्वका सबैभन्दा छिटो सुपर कम्प्युटरले १० सेप्टिलियन अर्थात् १०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्षमा मात्र हल गर्न सक्ने अत्यन्तै जटिल समस्या पाँच मिनेटमै समाधान गर्न सक्ने क्षमता राख्छ । 

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सूचना प्रविधि प्रणाली बढ्दै गएको अहिलेको समयमा यो उपलब्धिले क्वान्टम कम्प्युटिङको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ । हरेक चिपलाई लाखौं अमेरिकी डलर पर्न सक्ने यस्ता चिपहरूको मूल्य कति हुन्छ र कहिलेबाट सर्वसाधारणका लागि उपलब्ध हुन्छ भन्नेबारेमा गुगलले केही भनेको छैन ।

क्वान्टम कम्प्युटिङले क्वान्टम मेकानिक्सका सिद्धान्तलाई प्रयोग गरेर परम्परागत कम्प्युटरभन्दा धेरै छिटो र जटिल समस्याहरू समाधान गर्न सक्छ । गुगलको विलो चिपले यो प्रविधिलाई अत्यन्तै उच्च स्तरमा पुर्‍याउन सक्ने क्षमता राख्छ । विलोले क्वान्टम कम्प्युटिङमा महत्त्वपूर्ण प्रगतिको सुरुवात गरे पनि यो प्रविधि अझै प्रारम्भिक चरणमै रहेको र दैनिक जीवनका जटिल समस्याहरू समाधान गर्न सक्षम पूर्ण क्वान्टम कम्प्युटर निर्माण गर्न धेरै समय लाग्ने विज्ञहरूले औंल्याएका छन् ।

प्रविधिमा आधारित जीवनशैलीको विस्तार द्रुतगतिमा भइरहँदा क्वान्टम कम्प्युटिङको प्रयोगको सम्भावना पनि व्यापक बन्दै गएको छ । यो प्रविधिले विभिन्न जटिल रोगको औषधिसम्बन्धी प्रयोग र खोजका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र तथ्यांकको व्यवस्थापनमार्फत व्यापक परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ । साथै, यसले प्रभावकारी औषधि र थेरापीहरूको डिजाइनलाई सहज बनाउन सक्छ, जसका लागि अहिलेको प्रविधिमा वर्षौं र दशकौं लाग्ने गरेको छ। यसले आणविक लगायत अन्य ऊर्जा-मितव्ययी र प्रभावकारी ब्याट्री र प्रविधिको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

क्वान्टम कम्प्युटिङ बजारको बजार आगामी वर्षमा तीव्र वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२१ मा विश्वव्यापी क्वान्टम कम्प्युटिङ बजारको आकार करिब ४७२ मिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको थियो र यो सन् २०२६ सम्ममा १.७६ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । यो क्षेत्रको वार्षिक वृद्धिदर ३०.२ प्रतिशत देखिएको छ । निजी र सार्वजनिक क्षेत्रको लगानी तथा विभिन्न उद्योगहरूमा उन्नत कम्प्युटिङ प्रविधिको बढ्दो मागका कारण यो वृद्धि देखिएको हो ।

विश्वकै मूल्यवान् र चिप निर्माणमा अब्बल मानिएको कम्पनी एनभिडियाले पनि विलोलगायत क्वान्टम चिप निर्माणमा गुगल क्वान्टमलाई सघाउँदै आएको छ । यद्यपि, क्वान्टम कम्प्युटिङ क्षेत्रमा ठूलो सम्भावना र बढ्दो आवश्यकता भए पनि यस क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । 

वर्तमान बजारमा यसका प्रमुख चुनौतीमध्ये एक, यसको विकास र सञ्चालनका लागि आवश्यक पर्ने उच्च लागत र ऊर्जा हुन् । यस्ता जटिल मेसिन निर्माण र सञ्चालन गर्न ठूला आर्थिक, प्राविधिक र ऊर्जा स्रोतहरू आवश्यक पर्छन् । गुगलसँगै यसका प्रतिस्पर्धी कम्पनीहरू आईबीएम, माइक्रोसफ्ट र इन्टेल लगायतले पनि क्वान्टम कम्प्युटिङमा उल्लेखनीय प्रगति गरिरहेका छन् । यसले प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ ।

गुगलको क्वान्टम एआई प्रयोगशालाका प्रमुख हार्टमुट नेभेन क्वान्टम कम्प्युटिङको भविष्य र प्रगतिप्रति आशावादी छन् । 'विलोको सफलता व्यावहारिक क्वान्टम कम्प्युटर निर्माणको हाम्रो लामो र कठिन यात्रामा एक महत्त्वपूर्ण पाइला बनेको छ,’ उनले भनेका छन्, ‘यो प्रविधिले उद्योगहरूको रूपान्तरण गर्न र विश्वका चुनौतीपूर्ण समस्या समाधानका लागि बाटो पहिल्याउने सम्भावना देखाएको छ ।’

एजेन्सी

Link copied successfully